बैंकिङ कसुरको आरोपमा जिसस काभ्रेका प्रमुख गौतम पक्राउ

तु खबर संवाददाता
२०८१ चैत्र १२,बुधबार २०:३८

काठमाडौँ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-६ घर भएका ४१ वर्षीय सुवास थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सुवासले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधारबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्यामा संलग्न १६ जना पक्राउ

चन्द्रागिरी नगरपालिका-७ बस्ने दोलखा मेलुङ गाउँपालिका-४ घर भएका २३ वर्षीय अभय भन्ने अबे तामाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ घर भएका २१ वर्षीय आशिष श्रेष्ठ समेत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ खड्कागाउँमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिई झगडा हुँदा आशिष समेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रडहरू प्रहार गर्दा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।