काठमाडौंमा कर्फ्यु आदेश, आवतजावतमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । राजावादीहरुको आन्दोलन हिंसात्मक भएपछि त्यसलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको हो ।
कर्फ्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिए ।
कर्फ्यु लागेको कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा उल्लेख छ । आवतजावतमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको छ ।
यसअघि प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जन रहेका छन् ।