कोरियामा वातावरणीय संकट र यसको प्रभाव

बलराम पुडासैनी
२०८१ चैत्र १६,आईतवार ११:४२

दक्षिण कोरिया । पछिल्लो समय वातावरणीय संकट गम्भीर समस्याको रूपमा देखा परेको छ। यो समस्याले विकासोन्मुख मुलुकहरूलाई मात्रै नभई विकसित मुलुकहरूलाई पनि असर पुर्याइरहेको छ।

दक्षिण कोरिया जस्तो विकसित मुलुकमा वातावरणीय परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ। अप्रत्याशित रुपमा मौसम परिवर्तन भइरहेको छ। सुख्खा हावाहुरी र हिमपात भइरहेको छ, जसले प्राकृतिक विपत्का घटना सिर्जना गर्नुका साथै सामाजिक र सांस्कृतिक पक्षमा समेत गम्भीर प्रभाव पारिरहेको छ। यस्तो परिस्थितिमा, वातावरण अनुकूलनको महत्व झनै खड्किएको छ।

यहाँ प्रविधि र पूर्वाधारमा उत्कृष्टता छ। तर, वातावरणीय परिवर्तनका कारण हिमपात र अत्यधिक चिसोले आम जनजीवनमा असर पुर्याएको छ। सवारी व्यवस्थापनमा समस्या देखा पर्नुको साथै कृषि उत्पादनमा कमि आउने र जनस्वास्थ्यमा संकट उत्पन्न हुने जस्ता समस्याहरू देखापरिरहेका छन्।

विकसित मुलुकहरूमा यी समस्याहरूको प्रभाव अझ गम्भीर देखिन्छ। किनकि जनसंख्या घनत्व, जीवनशैली र प्रविधिको अत्यधिक प्रयोगसँग सम्बन्धित सञ्जालहरूमा असहजता उत्पन्न हुन्छ।

कोरियामा प्रमुख चार ऋतु छन्। जसमध्ये बसन्त ऋतुको अवधि मार्चदेखि मे महिनासम्म रहन्छ। सामान्यतया बसन्त ऋतुमा मौसम विस्तारै शीतल हुँदै जान्छ, विरुवामा पालुवा पलाउँछन् र फूलहरू फूल्छन् । जसले गर्दा वातावरण अत्यन्त रमाइलो र आकर्षक बन्छ। तर, हाल जलवायु परिवर्तनका कारण मार्च महिनाको अन्तिमसम्म बाक्लो हिमपात हुने र मौसम अत्यधिक चिसो हुने भइरहेको छ ।

वातावरणीय परिवर्तनले उत्पादकत्वमा गिरावट ल्याउँछ। कृषि क्षेत्रमा, जस्तै, समयमै वर्षा नहुने वा अत्यधिक हिमपातले बालीको उत्पादन घटाउने, जसले खाद्य आपूर्तिमा समस्या ल्याउनुका साथै मूल्य वृद्धिको समस्या सिर्जना हुनसक्छ । साथै, पर्यटन, जलवायु-निर्भर उद्योगहरू, र जलवायु संवेदनशील संरचनाहरूमा पनि नकारात्मक प्रभाव देखिन्छ।

अत्यधिक गर्मी र हिमपातले मानिसहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ। गर्मीको लहरले हृदयघात र गर्मी सम्बन्धी रोगहरूको जोखिम बढाउँछ, जबकि अत्यधिक हिमपात र चिसोले श्वासप्रणालीसम्बन्धी समस्या उत्पन्न गराउँछ।

वातावरणीय परिवर्तनका कारण जलस्रोतहरूमा अनियमितता देखिन्छ। अत्यधिक हिमपात वा वर्षा नहुनुले जलाशय र नदीहरूको जलस्तर घटाउँछ, जसले पानीको अभाव सिर्जना गर्दछ। यसले कृषिमा ठूलो असर पार्छ र मानव जीवनका लागि आवश्यक पानीको आपूर्ति संकटमा पार्न सक्छ।

यस समस्याको दीर्घकालीन समाधानका लागि सौर्य ऊर्जा, पवन ऊर्जा, र जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई बढावा दिनु आवश्यक छ। यस्ता परियोजनाहरूले वातावरणीय संकट न्यूनीकरण गर्न मद्दत गर्नेछन्।

विकसित मुलुकहरूमा समेत वातावरणीय अनुकूलनको कमीले गम्भीर प्रभाव पारिरहेको छ। यसको समाधानका लागि नवीकरणीय ऊर्जा, हरित पूर्वाधार, जलवायु अनुकूल कृषि, र सरकारी नीतिहरूको प्रभावकारी कार्यान्वयन अत्यन्तै आवश्यक छ।

सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा वातावरणीय परिवर्तनको प्रभाव र यसको अनुकूलनका उपायहरूको बारेमा जनचेतना बढाउनु आवश्यक छ। विद्यालय र विश्वविद्यालयहरूमा वातावरणीय अध्ययनको पाठ्यक्रमलाई प्राथमिकता दिनुका साथै कर्पोरेट क्षेत्रलाई पनि वातावरणीय अनुकूलनमा सामेल गराउन आवश्यक छ।

शहरीकरण र औद्योगिकीकरणसँगै हरित पूर्वाधारलाई प्रोत्साहन गर्नुपर्छ। हरियाली क्षेत्रहरूको विकास र वृक्षारोपणलाई प्राथमिकता दिनु वातावरणीय सन्तुलनका लागि आवश्यक छ। हरित क्षेत्रहरूले शहरी तापक्रमलाई नियन्त्रणमा राख्न र वायु प्रदूषण घटाउन मद्दत पुर्याउँछन्।

आधुनिक र टिकाऊ कृषि पद्धतिहरूको प्रयोगले वातावरणीय परिवर्तनका कारण उत्पन्न समस्याहरू कम गर्न सक्छ। जल, माटो, र बायोमासको सही प्रयोगले कृषि उत्पादनमा वृद्धि ल्याउन मद्दत गर्नेछ।

सार्वजनिक यातायातलाई बढावा दिनु, निजी सवारी साधनको प्रयोग घटाउनु र पैदल यात्रालाई प्रोत्साहित गर्नु वातावरणीय अनुकूलनको महत्वपूर्ण उपाय हो।

यदि यी उपायहरू प्रभावकारी रूपमा लागू गरिए भने, प्राकृतिक संकटको प्रभावलाई कम गर्न र दीर्घकालीन रूपमा सन्तुलित विकास हासिल गर्न सकिन्छ भन्ने विज्ञहरूको सुझाव छ।

 

तस्वीरः कोरियामा भएको हिमपात