उच्च अदालतको आदेशपछि पक्राउ परे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल इजलासको आदेशमा पक्राउ परेका छन् । उनलाई घरैबाट प्रहरीले पक्राउ गरेको हो ।
सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी, जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो ।
जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगीमा एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेश बदर गर्दै उच्च अदालत बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो ।
न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो ।
लामिछानेलाई पक्राउ गर्न पुगेको प्रहरी र लामिछानेबीच केहीबेर रस्साकस्सी समेत भएको थियो । पक्राउ पर्दै गर्दा लामिछानेले रास्वपाको फेसबुक पेजबाट लाइभ समेत गरेका थिए ।