आन्दोलनलाई दबाउने कोसिस भए ‘जेल भर अभियान’ चलाउँछौँ : शाही

तु खबर संवाददाता
२०८१ चैत्र २३,आईतवार १८:१५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसप्रति कडा तेवर देखाउँदै अहिलेको राजनीतिक ध्रुवीकरणमा कांग्रेस कुन पक्षमा उभिने हो भनेर स्पष्ट गर्न माग गरेका छन्। राप्रपा दाङ क्षेत्र नम्बर १ द्वारा लमहीमा आयोजित बृहत् आमसभामा सम्बोधन गर्दै शाहीले देशमा राष्ट्रवादी र आतंकवादी दुई कित्ता रहेको भन्दै कांग्रेस कुनतिर हो भन्ने खुल्नुपर्ने बताए।

‘देशमा अहिले दुई कित्ता छन् -राष्ट्रवादी र आतंकवादी। कांग्रेस कुन रोज्ने हो, त्यो क्लियर गर’ शाहीले कटाक्ष गर्दै भने, ‘अहिले चुप लागेर चल्दैन। कांग्रेसले आफ्नो अडान प्रस्ट गर्नैपर्छ।’

शाहीको भनाइ सिधै नेपाली कांग्रेसका शीर्ष नेताहरू गगन थापा र विश्वप्रकाश शर्मामाथि लक्षित थियो। उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुनेमाथि झुटा मुद्दा लगाउने तयारी भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए। ‘यदि हामीमाथि झुटा मुद्दा लाग्यो भने हामी चुप लाग्नेवाला छैनौं’ उनले चेतावनी दिँदै थपे, ‘त्यसपछि ‘जेल भर अभियान’ सुरु हुन्छ।’

देशमा बारम्बार हुने सरकार परिवर्तन र अस्थिरताबाट जनता आजित भएको भन्दै शाहीले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने धारणा पनि राखे। ‘प्रधानमन्त्री सबै नेपालीले सिधै चुन्न पाउनु पर्ने व्यवस्था आवश्यक भइसकेको छ’ उनले भने।