बजेट निर्माणमा सुझाव दिन अर्थ मन्त्रालयको खुला आह्वान

तु खबर संवाददाता
२०८१ चैत्र २५,मंगलवार १४:३६

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको बजेट तथा कार्यक्रम निर्माण प्रक्रिया औपचारिक रुपमा सुरु भइसकेको छ। अर्थ मन्त्रालयले बजेट तर्जुमा प्रक्रियालाई समावेशी र सहभागी बनाउने उद्देश्यले संघ, संस्था, विज्ञ, बुद्धिजीवी, व्यवसायी, राजनीतिक दल, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई बजेटका लागि सुझाव दिन हार्दिक अनुरोध गरेको छ।

मन्त्रालयले चालु वर्षको चैत २२ गते सूचना प्रकाशित गरी, आगामी वर्षको बजेटमा समावेश गर्न सकिने उपयुक्त नीति, कार्यक्रम र सुझावहरू आगामी वैशाख मसान्तभित्र उपलब्ध गराउन अनुरोध गरेको हो।

सुझाव पठाउने प्रक्रिया सरल बनाउँदै मन्त्रालयले नागरिकहरूलाई अनलाइन माध्यमबाट समेत सुझाव दिन सकिने व्यवस्था मिलाएको छ। इच्छुक व्यक्तिहरूले बजेट सुझाव फारम भरी सुझाव पठाउन सक्नेछन्। यस्तै, इमेल ठेगानामा पनि सुझाव पठाउन सकिने जानकारी दिइएको छ।

प्रत्येक वर्ष बजेट तर्जुमा गर्दा सरोकारवाला पक्षको सहभागिता सुनिश्चित गर्न अर्थ मन्त्रालयले सुझाव संकलनको यो अभ्यासलाई निरन्तरता दिँदै आएको छ। यसबाट नागरिकस्तरमा बजेटप्रति चासो बढ्नुका साथै स्थानीय आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर बजेट बनाउने वातावरण बन्ने मन्त्रालयको अपेक्षा छ।