मञ्चको सातौँ महाधिवेशनमा पूर्वमन्त्री राणाले भने – सञ्चारमाध्यमलाई शिकार बनाउने प्रवृत्ति खतरनाक

काठमाडौँ : नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन सम्पन्न भएको छ । पूर्व राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाको प्रमुख उपस्थितितामा भएको कार्यक्रममा बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल लगयतकाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यस अवसरमा नेपाली पत्रकारितामा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री राणाले प्रेस स्वतन्त्रताको महत्व र गणतन्त्रको मूल्यलाई उच्च रहेको बताए । राजतन्त्र र गणतन्त्रको विकल्पको कुरा गर्नु नहुने बताउँदै गणतन्त्रको कमजोर पक्षलाई सुधार्न आवश्यक रहेको औल्याए ।
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पत्रकारिता क्षेत्रको सशक्तीकरणमा मञ्चको भूमिका र पत्रकारहरूको योगदानको महत्त्वकासाथ वकालत गरे।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले हालका पत्रकारिता चुनौतिहरू र पेशागत धर्मका विषयमा बोलेका थिए। उनले भने, “समाजका सबै पक्षले सञ्चारमाध्यम र पत्रकारहरूलाई निशाना बनाइरहेका छन्, पत्रकारहरूले आचारसंहिताका आधारमा काम गर्दा आतंकित हुनु पर्ने अवस्था समाप्त गर्न जरुरी छ।”
उद्घाटन समारोहमा ६ जना पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो। नेपाल टेलिभिजनका नायव महाप्रबन्धक आरती चटौतलाई क्रियाशील पत्रकारिता पुरस्कार (नगद २५ हजार), अन्नपूर्ण पोस्ट दैनिककी समाचार सम्पादक रामकला खड्कालाई प्रताप स्मृति पत्रकारिता पुरस्कार (नगद १५ हजार रुपैयाँ ) चन्द्रसूर्यवाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई गौरीनारायण श्रेष्ठ मध्यान्ह दैनिक पत्रकारिता पुरस्कार ( ११ हजार १ सय ११ रुपैयाँ) प्रदान गरिएको थियो ।
त्यस्तै, चेतनराज पाण्डे, घनश्याम श्रेष्ठ, र टंककला तिमिल्सेनालाई क्रमशः नाजिर उद्दिन मिया स्मृति, डा. चुडाबहादुर श्रेष्ठ स्मृति, र बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो। जनही ५ हजार १ सय ११ रुपैयाँ राशीको यो पुरस्कार केटिएम भ्वाइसले सौजन्य गरेको थियो ।
समारोहमा तीन दशकदेखि पत्रकारितामा सक्रिय शिरोमणि दवाडी, महिला प्रकाशक सितादेवी श्रेष्ठ, मञ्चका संस्थापक महासचिव बैकुण्ठ भण्डारी, क्रियाशील पत्रकार गिरिजाप्रसाद अधिकारी, गैरसरकारी संस्था महासंघका उपमहासचिव किरण थापा, सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष नविनरसिंह नेपाली, कम्प्युटर एसोसिएसन अफ नेपालका उपाध्यक्ष चिरञ्जिवी अधिकारी, र नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघुनाथ त्रिपाठीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको समापनमा मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारितामा निष्पक्षता र पारदर्शिताको महत्वको बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव बैकुण्ठराज पराजुली, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष रोयल आचार्य, ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्की, मंचका संस्थापक अध्यक्ष योगेन्द्र प्रताप शाहीलगायतका विभिन्न विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।
महाधिवेशनले युवराज बिद्रोहीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।