अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

तु खबर संवाददाता
२०८२ बैशाख ८,सोमबार ०७:४०

काठमाडौं । मोरङ, विराटनगर महानगरपालिका- १५ बैंक रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-२ बस्ने ३१ वर्षीय सरन डाँगीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, कैलारी गाउँपालिका-१ सडकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-८ दुधिया बस्ने २५ वर्षीय सन्जु कुमार चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका- १ हनुमानथानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सकायल बस्ने ३९ वर्षीय करन बहादुर देउवा र ३५ वर्षीय रोहित शाही रहेका छन् । प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम २ सय ७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-११ बस्ने २५ वर्षीय राम बहादुर बिष्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-२६ सिसुवारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ५ सय ४३ ट्याब्लेट र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशाल सुनार रहेका छन् ।
इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा शान्तीलाई १ हजार १ सय ८० ट्याब्लेट ट्रामाडोल र विशाललाई २ हजार ३ सय ६३ ट्याब्लेट ट्रामाडोल र करिब ३ सय ग्राम गाँजा जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलवोटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित सोही उपमहानगरपालिका-४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.६३ प ४८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१४ कटुकास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित बाँके नेपालगञ्ज उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय अनिश नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गोठीकाँडाबाट खटिएको प्रहरीले लु।६७ प ६५५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
संखुवासभा, धर्मदेवी नगरपालिका-४ तिरतिरे बस्ने २८ वर्षीय राम बहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका-६ पुलुङ बस्ने ३८ वर्षीय देबेन्द्र थापालाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम बहादुरको घरमा लागूऔषध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीले राम बहादुरको घर नजिकै गोठको मलखाडीमा लुकाई राखेको उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।