कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक

काठमाडौँ । कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने छ ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गरेर शिक्षकहरू आन्दोलनरत छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।
आन्दोलनरत शिक्षकहरुको मागबारे निर्णय हुन नसक्दा त्यसले अन्यौल बनाएको छ ।
यसैबीच शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छिन् । शिक्षकहरुले राखेका मागहरु पूरा नहुने स्थिति बनेपछि उनले राजीनामा दिएकी हुन् । यद्यपी राजीनामामा शिक्षकको मागबारे कुनै कुरा उल्लेख छैन ।