बृद्धाश्रमलाई खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०८२ बैशाख १३,शनिबार १७:०३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ चौकीटोलस्थित ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग प्राप्त भएको छ । स्वर्गीय जानुका अधिकारी पुडासैनीको सम्झनामा उनको परिवारले आज आश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।

स्वर्गीय पुडासैनीकी छोरी लक्ष्मी पुडासैनीले आज आश्रममा पुगेर दाल, चामल, तरकारी, नुन, तेल, चिनि, बिस्कूटलगायतका सामग्री हस्तान्तरण गरेकी हुन् । मातातीर्थ औँशीको अवसर पारेर आमाको स्मृतिलाई जीवन्त राख्दै आश्रममा आश्रित आमाबुवाहरुलाई केही सुख एवम् हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको उनले बताइन् । सानो सहयोगले पनि मानवता र माया फैलाउन ठूलो भूमिका खेल्ने उनले बताइन् ।

आश्रमका अध्यक्ष शिद्धिलाल श्रेष्ठले सहयोगी मनहरुबाट प्राप्त हूने यस्ता खालका सहयोग महत्वपूर्ण रहेको बताए । उनले सहयोगी दाताहरुको सहयोगबाटै आश्रम सञ्चालन भइरहेको भन्दै सबैलाई सहयोगको लागि आह्वान गरे । आश्रममा हाल २३ जना बृद्धबृद्धा आश्रित छन् ।