सबैलाई समेटेर वडाको विकास गर्छु : सविन न्यौपाने
२०४० साल असार २५ गते जन्मिएका सविन न्यौपानेको बुबाको नाम रामबाबु न्यौपाने तथा आमाको नाम गायत्री न्यौपाने हो । व्यवस्थापन बिषयमा स्नातक अध्ययन गरेका न्यौपाने आफ्नो वडामा बिभिन्न संघसस्थामा लामो समयदेखि क्रियाशील छन् ।
पत्रकारितामा आवद्ध न्यौपानेले यसपालिको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार भई बिजयीसमेत भए । सुन्दर बचत तथा ऋण सहकारी सस्थाको सचिव, सुन्दर युवा संजालको सल्लाहकार, चौकीटोल युवा क्लबको सल्लाहकारजस्ता आधा दर्जनबढी सामाजिक संघसस्थामा उनको आवद्धता छ ।
निर्वाचनअघि उनले २२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए, सो प्रतिवद्धतापत्रमा वडाको समग्र विकासको खाका समेटिएको थियो । वाइपास सडकको स्तरउन्नति, वस्ती संरक्षणको लागि तटबन्धको निर्माण, विद्यालयहरुमा अग्रेजी शिक्षाको व्यवस्था, भैरवडाँडा नकौली घाक्सिङटार सडकको स्तरउन्नति, लालझाडी चौकीटोल जोड्ने पक्कीपुलको निर्माण, दूर्गम वस्तीहरुमा खानेपानीको व्यवस्थापन, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार, ढल निकासको उचित व्यवस्था तथा स्ल्याप सडकको निर्माणलगायतका योजनाहरु उनले तय गरेका छन् ।
निर्वाचित भएपछि तु खबरसँग कुराकानी गर्दै न्यौपानले पूर्व प्रतिवद्धता अनुसार क्रमिक रुपमा कामहरु गर्दै जाने प्रतिवद्धता दाहोर्याएका छन् । कार्यभार सम्हालेपछि रातो दिन नभनी वडाको विकासमा खट्नेछु, उनले तु खबरसँगको कुराकानीमा भने । हेटौंडा उपमहानगरपालिकाभित्रको वडा भइकन पनि १ नम्बर वडा निकै पछाडि परेको छ । यो वडाको विकासका लागि युवा, अग्रज सबै तह क्षेत्र, पार्टी र समुदायसँग उचित सहकार्य गर्ने उनले बताए । वडाको विकासमा सबैको भूमिकाको सहभागिता र योगदान आवश्यक रहेको बताउँदै वडा अध्यक्ष न्यौपानेले आफूले पनि टिमवर्कमा काम गर्ने बताए ।