नदीजन्य पदार्थ उत्खनन्को मापदण्ड परिवर्तन गर्नुपर्ने मागसहित जिससको टोली मन्त्रालयमा
मकवानपुर । नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को उत्खनन्को सन्दर्भमा नेपाल सरकारबाट जारी मापदण्डका कारण उत्पन्न समस्याका बिषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसंग सरोकारवालाहरुले छलफल गरेका छन् ।
जिल्ला समन्वय समिति महासंघका बागमती प्रदेश अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको टोलीले विहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालसंग मन्त्रालयमा भेटघाट गर्दै (ढुंगा, गिटी,बालुवा) को उत्खनन्का सन्दर्भमा जारी मापदण्ड र गृहमन्त्रालयद्धारा जारी परिपत्रका कारण उत्पन्न समस्याका विषयमा छलफल गरेको हो ।
छलफलमा जिसस मकवानपुरका प्रमुख खुलालले नेपाल सरकारबाट जारी मापदण्ड र गृहमन्त्रालयद्धारा जारी परिपत्रका कारण प्राकृतिक स्रोतको उत्खनन हुन नसक्दा विकास निर्माण ठप्प हुनुका साथै स्थानीय तहको आयस्रोतमा समेत असर पर्ने बताएका छन् । उनले मापदण्डका कारण आइइ स्वीकृत गर्न नसक्दा नदीजन्य पदार्थको ठेक्का बन्दोबस्ती समेत हुन नसकेको र स्थानीय तहको भौतिक विकास तथा विभिन्न योजनासमेत असर पर्ने देखिएको बताए ।
उनले मापदण्डका कारण उत्खनन् नहुँदा नदिजन्य पदार्थको अभाव हुन थालेको विषयमा ध्यानाकर्षण गराउँदै विकास निर्माणको समय सुरु भएकोले मापदण्डको दफा ४ को १० मा रहेको प्रावधानको परिमार्जनका लागि आग्रह गरे ।
प्रमुख खुलालले सचिव अर्यालसंग जिल्ला समन्वय समितिहरुमा प्राविधिक कर्मचारी (इन्जिनियर) को अभाव रहेको बिषयमा समेत जानकारी गराए । अधिकांश जिसस कार्यालयमा प्राविधिक कर्मचारी नहुँदा अनुगमनलगायतका काममा समस्या सृजना हुने गरेको भन्दै प्राविधिक कर्मचारी पठाउन वा करारमा नियुक्तिको लागि कार्यालयलाई अनुमति दिन अनुरोध गरे । यस्तै साविकमा जिल्ला विकास समितिमा कार्य गरि अवकास प्राप्त कर्मचारीको उपदान सम्बन्धी समस्याका बिषयमा समेत छलफल भएको प्रमुख खुलालले बताए । छलफलका क्रममा सचिव अर्यालले जिल्ला समन्वय समितिमा परेका समस्याहरुका विषयमा सकारातक प्रतिकृया दिँदै आफु गम्भीर रुपमा समाधानमा लाग्ने बताए ।
जिसस महासंघका बागमती प्रदेश अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख खुलालको नेतृत्वमा गएको टोलीमा जिसस काठमान्डौंका प्रमुख शिवशुन्दर राजबैद्य, जिसस महासंघका केन्द्रिय प्रवक्ता एवम् जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, जिसस सिन्धुपाल्चोकका प्रमुख तामाङ्, गाउँपालिका महासंघ बागमती प्रदेशका सदस्य एवम् मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलगायतको सहभागिता थियो