अब मकवानपुरगढी दरबार घुम्न शुल्क तिर्नुपर्ने
मकवानपुर । नेपालकै सबैभन्दा ठूलो र ऐतिहासिक मकवानपुरगढी दरबार घुम्न अब शुल्क लाग्ने भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित पर्यटकीय रुपमा परिचित उक्त गढी दरबार घुम्न मंसिर १३ गतेदेखि शुल्न लिन थालेको मकवानपुरगढी गाउँपलिकाले जनाएको छ । यसअघि उक्त पर्यटीय क्षेत्र घुम्न कुनै पनि शुल्क लाग्ने थिएन ।
गाउँपालिकाले ठेक्का मार्फत शुल्क उठाउन सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए । उनका अनुसार २०७७ मंसिरबाट असारसम्मका लागि १३ लाखमा ठेक्का दिइएको छ । दरबार क्षेत्रको सरसफाई, स्तरउन्न्ती, पर्यटकमैत्री बनाउनका लागि घुम्न आउने पर्यटकसँग थोरै रकम लिने निर्णय गरिएको प्रशासकीय अधिकृत पुडासैनीले बताए ।
गाउँपालिकाले दरबार क्षेत्र घुम्न जाने स्वदेशी पर्यटकले १५ रुपैयाँ, विदेशीले ५० रुपैयाँ, साना सवारीसाधन पार्किङको १० रुपैयाँ, ठूला सवारीसाधन पार्किङको एक सय रुपैयाँ तोकिएको छ ।
यसैगरी, पकाएर खाने पिकनिकका लागि एक हजार र ड्राइ पिकनिकका लागि पाँच सय रुपैयाँ, दरबार क्षेत्रमा फिल्म सुटिङका लागि तीन हजार पाँच सय र म्युजिक भिडियो सुटिङका लागि दुई हजार शुल्क निर्धारण गरिएको छ ।