मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै

तु खबर संवाददाता
२०७७ मंसिर २६,शुक्रबार १६:०३
file-photo

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ/छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चार जनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू पूर्वाधारको अध्ययन अघि बढाएको हो ।

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो । त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरिरहेको छ । सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गर्न थालेको हो ।

एशियाली विकास बैङ्क (एडिबी) ले सुरुङको सबै भागको अवलोकन गर्नका लागि चारजना प्रतिनिधि पठाएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनीहरुको अध्ययन प्रतिवेदनका आधारमा अहिले पानी हाल्न ठीक छ/छैन भनी निर्णय गरिने उनले बताए । पन्तका अनुसार उनीहरु निर्माणस्थलमा रहेर त्यहाँ सुरुङ हेरिरहेका छन् र त्यसकै आधारमा प्रतिवेदन दिनेछन् । उनले भने, “पहिले परीक्षण हुँदा पनि दुईजना प्रतिनिधि आएका थिए, दुर्घटना भएर अहिले सच्याउने काम हुँदा पुनः अर्को टोली आएको छ ।”

प्राविधिक टोलीले अध्ययनका लागि सामान्यतया २८ दिन लाग्ने देखिएको छ । एडिबीका ती प्रतिनिधिले डिसेम्बरभित्रमा अध्ययन सकाउने अपेक्षा गरिएको छ । जम्मा २७ किमी लम्बाइको सुरुङसँगै द्वारहरुको अवस्था हेर्न समय लाग्ने बताइएको छ । उनीहरुले सबै ठीक छ अब पानी भर्न मिल्छ भनेपछि पानी हालिने तयारी गरिएको आयोजनाले जनाएको छ ।

सुरुङमा चार द्वारमा सुधार गर्नुपर्नेमा त्यो काम अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार द्वारको फ्रेम सुरुङको भित्तामा अड्याउने काम भइरहेको छ । यसअघि त्यसको प्वाल हाल्ने, रड हाल्ने र फ्रेम हाल्ने काम भएको थियो । फ्रेमलाई कङ्क्रिट राखेर केही दिन हेर्नुपर्ने उनले बताए । फ्रेम हालिसकेर कङ्क्रिट राखिएको र त्यसले आफ्नो क्षमतामा आउन अझै केही समय लाग्ने बताइएको छ । उनले भने, “झण्डै २८ दिन हेरेर त्यसको अवस्था ठीक छ भन्ने भएपछि मात्रै पानी पठाउन थालिने छ ।”

परीक्षणका लागि पुनः पानी सुरुङभित्र हाल्न अझै झण्डै १५/१६ दिन लाग्ने आयोजनाले जनाएको छ । सुरुङ भरिएपछि केही दिनसम्म त्यो पानीलाई भित्र नै थुनेर राखिन्छ । सबै पानी बाहिर निकालेपछि मात्रै त्यसमा समस्या भए/नभएको थाहा हुने सूचना अधिकारी पन्तको भनाइ छ । सुरुङमा समस्या नभएको भन्ने निश्चित भएपछि मात्रै स्थायी रुपमा पानी पठाइन्छ । उनले भने, “दुई महिना यो प्रक्रियाका लागि लाग्छ ।”

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार केही महिनायता सुरुङमा पुनरावलोकनको काम भइरहेको उनले बताए । उनले भने, “सम्भावित सबै ठाउँमा पुनरावलोकन भइरहेको छ ।”

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने प्रवक्ता शाक्यले जानकारी दिए । अहिले बागमतीको पानीमार्फत परीक्षण भइसकेको छ ।

यसअघि सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो । दुर्घटनाका बारेमा बुझ्का लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले द्वारभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।

सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् ।

सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी द्वार निर्माण गर्ने कम्पनी दुवैको भएकाले उनीहरूले जिम्मेवारी लिएका थिए । इटास कम्पनी परामर्शदाताका रूपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले द्वार निर्माणको बाँकी काम सम्पन्न गरेको थियो ।

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ । ‘हेडबक्स’ सकिन अझै छ महिना लाग्ने हुँदा अस्थायी बाँधबाट पानी पथान्तरण गरिनेछ । मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरू निर्माणका काम रोकिएको थिएन । बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*