चुच्चेखोला सामुदायिक वनमा सालक संरक्षणमा जोड, छिट्टै पार्क निर्माण हुने
हेटौंडा, २२ जेठ । मकवानपुरको चुच्चेखोला सामुदायिक वनमा लोपोन्मुख जनावार सालकको संरक्षणका लागि विशेष पार्क निर्माण गरिने बारेमा आज छलफल भएको छ । आज विश्व वातावरण दिवसको अवसमा चुच्चेखोला सामुदायिक वनको रामपुरडाँडामा वृक्षारोपण सहित कार्यक्रम आयोजना गरिएको हो ।
राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल मकवानपुर जिल्लाकै पहिलो सामुदायिक वन चुच्चेखोला सामुदायिक वनमा पार्क निर्माण गरिने बारेमा छलफल भएको हो । वनमा स्थानीय जडीबुटी, लोपोन्मुख जडीबुटी र लोपोन्मुख जनावरहरुको पनि संरक्षण गरिने लक्ष्य राखिएको छ । करिब २ सय ३८ हेक्टरमा फैलिएको सामुदायिक वनको ८ हेक्टर क्षेत्रमा पार्क बनाउने लक्ष्य राखिएको छ ।
जिल्ला वन कार्यालय मकवानपुरको आयोजना तथा मकवानपुरकै पहिलो सामुदायिक वन चुच्चेखोला सामुदायिक वन समितिको सहआयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला वन कार्यालयका सुचना अधिकारी विशाल भट्टराईले वृक्षारोपण गर्दै कार्यक्रमको सुरुवात गरेको त्यहाँस्थित हाम्रा समाचार प्रमुख बलराम पुडासैनी र विशेष संवाददाता राज सापकोटाले बताएका छन् ।
सुचना अधिकारी भट्टराईको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भैरव राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।