लोपोन्मुख बनकरियालाई न्यानो कपडा

मकवानपुर । कपडा अभावले जाडोमा समस्या भोग्दै आएका लोपोन्मुख जाति वनकरियाका बालबालिका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । आदिवासी जनजाती विकासका लागि संजाल काठमाडौंले सदस्यहरुबाट संकलित रकमबाट तयारी कपडा वितरण गरिएको हो ।
कार्यक्रममा आदिवासी जनजाति विकासका लागि संजालकी अध्यक्ष सावित्रा चेपाङ, उपाध्यक्ष सुदीप ठकुरी, कोषाध्यक्ष निर्मला भुजेल, सदस्य सुमिन गुरुङ लगायतले वनकरिया बालबालिकालाई कपडा वितरण गरेका थिए ।
कपडा १ देखी २० बर्ष उमेरसम्मका ११ छात्रासहित ३३ विद्यार्थी वनकरिया, एक जना शारिरीक रुपमा अपाङ्ग र ३ एकल महिलालाई वितरण गरिएको थियो ।
कपडा वितरणले बनकरिया बालबालिकालाई विद्यालयमा पढ्न र ट्युसन पढ्न सहज हुने अपेक्षा गरिएको छ । २०६५ सालमा स्थापित संस्थाले आदिवासी जनजातिका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसअघि, २० घर रहेको वनकारियावस्तीमा तीन लाख ३० हजार रुपैंयाको लागतमा दश वटा ट्युवेल निर्माण भएपछि भाँडा माझ्न, लुगा धुन कुलोको मलमुत्र मिसिएको पानी प्रयोग गर्नुपर्ने बाध्यताबाट मुक्ती पाएको वनकरियाहरुले बताएका छन् ।
आदिवासी मामिलाहरुको लागि अन्तर्राष्ट्रिय कार्य समूह (आईडब्लुजीआईए) को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमार्फत् ट्युवेल निर्माण गरिएको थियो ।