मकवानपुरमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन

तु खबर संवाददाता
२०७७ फाल्गुन ६,बिहीबार ०८:३४
file-photo

मकवानपुर । मकवानपुरमा बुधबार भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आयोगको कार्यालय उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खुलालले मकवानपुर जिल्लाको भूमि सम्बन्धी समस्या समाधानमा आयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए । भूमि सम्बन्धी समस्यालाई अब प्रभावकारी रुपमै समाधान गर्नेगरि काममा खटिन आग्रह गर्दै उनले जिल्ला समन्वय समितिका तर्फबाट आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिमा एक जना अध्यक्ष, एक जना विज्ञ सदस्य र एक जना सदस्य गरी तीन जना छन् । यस्तै आयोगमा डिभिजन वन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालयका प्रमुख सदस्य तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेका छन् । प्रमुख खुलालले आयोगका अध्यक्ष एवम् सदस्यहरुलाई कार्यकक्षमा स्वागत समेत गरे ।

कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष रामेश्वर रानाले आयोग मार्फत् जिल्लामा भूमिविहीनलाई जग्गा, लालपुर्जा लगायत भूमि सम्बन्धी समस्याको समाधानलाई प्रभावकारी रुपमा अघि बढाउने बताए । उनले जिल्लामा भूमि सम्बन्धी समस्या समाधानका लागि संघीय सरकारमार्फत् ८ वटा पालिकामा सम्झौता भएर काम समेत सुरु भईसकेको र बाँकी पालिकाहरुमा समेत छिट्टै काम सुरु गरिने बताए ।

जिल्लाको कैलाश र ईन्द्रसरोवर गाउँपालिका बाहेक स्थानीय तहमा भूमि सम्बन्धी तथ्याङ्क सङ्कलन भइरहेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*