पत्रकारिता क्षेत्रप्रति राज्यको भूमिका प्रेरणादायी हुनुपर्ने – उपसभामुख तामाङ
मकवानपुर । बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङले देश र जनताको लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै राज्यले पनि सञ्चार क्षेत्रलाई थप जिम्मेवार र सशक्त बनाउन प्रेरणादायी र समन्वयतात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्वारा काभ्रेको धुलिखेलमा आयोजित ५ दिने मल्टिमिडिया तथा अनलाईन पत्रकारिता सम्बन्धी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै उपसभामुख तामाङ्ले आम जनताको विश्वास सञ्चार क्षेत्रमाथि हुने बताउँदै सञ्चार क्षेत्रले पनि आत्मसमिक्षा गरेर कमिकमजोरीलाई सुधार्दै थप जिम्मेवार हुनुपर्ने बताइन् ।
उपसभामुख तामाङले गुणस्तरीय समाचार उत्पादन र सम्प्रेषणमा तालिम निकै उपयोगी हुने विश्वाससमेत व्यक्त गरिन् । बागमती प्रदेशसभाले बनाएको प्रदेश सञ्चार माध्ययम व्यवस्थापन ऐन अनुसार स्थापना भएको सञ्चार रजिष्ट्रारको कार्यालयले पत्रकार र पत्रकारितालाई टेवा पुग्ने गरी काम गरिरहेको बताइन् ।
कार्यक्रममा बोल्दै सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले पत्रकारहरुले जिम्मेवार ढंगबाट समाचार संकलन, उत्पादन तथा सम्प्रेषण गर्नुपर्ने बताउँदै पत्रकारितालाई गुणस्तरीय र प्रविधियुक्त बनाउन प्रविधिको उपयोग गर्ने विधि र अनलाईन पत्रकारिताका बिबिध पक्षको बारेमा जानकारी दिने उदेश्यले तालिम आयोजना गरिएको प्रश्ट पारे ।
उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदु गौतम र काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले तालिममा सहभागि पत्रकारहरुलाई यस तालिमबाट थप ज्ञान लिँदै पत्रकारिता क्षेत्रमा थप उत्तरदायी भएर लाग्न सुझाव दिए ।
तालिममा सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट र मकवानपुरका गरी १९ जना पत्रकार सहभागी छन् ।
सहभागिहरुलाई प्रवेश सुवदी र उमेश श्रेष्ठले अनलाईन पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक विषयमा प्रशिक्षण गर्नेछन् ।