रसुवागढी नाका तीन सातापछि आजबाट सञ्चालनमा आयो
काठमाडौं । नेपाल–चीन व्यापारीक नाका रसुवागढी तीन सातापछि आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण गत माघ २९ गतेदेखि बन्द उक्त नाका आजबाट खुलेको रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीले जानकारी दिए ।
नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको भन्सार प्रमुख रेग्मीले जानकारी दिए । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।
भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए । यो वर्ष कोभिड तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा धेरै पटक अवरोध देखिएको छ ।