देशको ७० बढी जिल्लामा निषेधाज्ञा
काठमाडौँ । कोरोना भाइरसको संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि देशका विभिन्न जिल्लाहरुमा जारी निषेधाज्ञालाई थप गर्दै कडाइ गरिने भएको छ ।
सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, काभ्रे, झापालगायत जिल्लामा निषेधाज्ञाको अवधि थप गरिएको छ।
सल्यान र गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा गरिने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सूचना निकालेर जानकारी दिएका छन्।
यस्तै बाजुरामा जेठ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
साथै प्रदेश नम्बर २ को धनुषामा १० दिन निषेधाज्ञा थप गरिएको छ।
वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो।
झापामा पनि निषेधाज्ञा थपेर जेठ ७ गतेसम्म जारी गर्ने निर्णय गरिएको छ।
साथै काठमाडौं उपत्यकासहित देशका ७० बढी जिल्लामा निषेधाज्ञा लगाइएका छन्।