दर्ता नै नभएको पोलिक्लिनिक धाउँछन् हेटौँडा अस्पतालका डाक्टर, अनुगमन टोलीद्वारा सिल
मकवानपुर । आइतबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माको नेतृत्वमा खटिएको अनुगमन टोलीले दर्ता प्रक्रिया पुरा नगरी संचालनमा रहेको एउटा पोलिक्लिनिकलाई शिल गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१ स्वर्गलोकस्थित मिलन पोलिक्लिनिक दर्ता प्रक्रिया पुरा नगरी संचालनमा रहेको फेला परेपछि अनुगमन टोलीले शिल गरेको हो ।
सम्बन्धित निकायबाट फार्मेशी मात्रै संचालन गर्ने अनुमति भएको तर, निर्बाध पोलिक्लिनिकसमेत संचालन भइरहेको फेला परेपछि टोलीले पोलिक्लिनिकलाई शिल गरी दर्ता प्रक्रिया पुरा गरेर मात्रै संचालनमा ल्याउन आग्रह गरेको छ ।
पोलिक्लिनिकमा हेटौँडा अस्पतालका डाक्टरको स्ट्याम्प !
दर्ता नै नभएको पोलिक्लिनिकमा हेटौँडा अस्पतालका डाक्टरहरु धाउने गरेको तथ्य पनि फेला परेको छ ।
स्त्री तथा प्रशुती रोग विशेषज्ञ डा.रामकाजी महर्जन, अर्थोपेडिक सर्जन डाक्टर रामचन्द्र सापकोटा र नवजात शिशु तथा बालरोग विषेषज्ञ डा. हरिप्रसाद खड्का उक्त पोलिक्लिनिकमा आएर उपचार सेवा प्रदान गर्ने गरेको पोलिक्लिनिकका संचालक स्वीकार गर्छन् ।
पोलिक्लिनिकमा ठूलो बोर्ड राखेर सुगर प्रेसर, थाइराइड, मुटु, कलेजो, फोक्सो तथा पेट रोग विशेषज्ञ डा. दाजेन्द्र बस्नेतको समेत प्रचार गरिएको छ ।
अझ पोलिक्लिनिकले हेटौँडा अस्पतालका केही यस्ता डाक्टरको स्ट्याम्प पनि बनाएको छ कि ती डाक्टरहरुलाई जानकारीसमेत
छैन ।
हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविण श्रेष्ठ, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रजनी अग्रवाललगायतका डाक्टरहरुको स्ट्याम्पसमेत उक्त पोलिक्लिनिकमा फेला परेको छ । तर सो विषयमा ती डाक्टरहरुलाई जानकारी छैन ।
पोलिक्लिनिकले भने ती डाक्टरहरुसंग कुराकानी भइरहेकोले अगाडि नै स्ट्याम्प बनाएको बताएको छ ।