मकवानपुर सीडीओको आदेश – ढुंगागिटी बोक्ने टिपर चलाउन पाइने, तरकारी पसल चाहिँ बन्द हुने
हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले यही जेठ ११ गते १३ वुँदे आदेश जारी गरे । संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा (२), कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा (४) र स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) बमोजिम कोरोना रोग रोकथाम र नियन्त्रणका लागि विभिन्न आदेशहरु जारी भएका छन् ।
सीडीओ पाण्डेले जारी गरेको आदेश अनुसार, ढुंगागिटी र बालुवा बोक्ने ट्याक्टर र टिपर बिहान १० बजेदेखि ३ बजेसम्म निर्वाध चल्न पाउने छन् । तर सहकारी संस्था भने बन्द हुनेछन् । वैंक हप्तामा २ दिन मंगलबार र शुक्रबार मात्र खोल्ने व्यवस्था मिलाइएको छ । सहकारी तथा फाइनान्सहरु भने पूर्ण रुपमा बन्द हुने सीडीओ पाण्डेले जारी गरेको आदेशमा उल्लेख छ ।
पाण्डेले ढुंगा गिटी र बालुवा बोकेको सवारीसाधन संचालन गर्न पाइने बताए । तु खबरले ढुंगा गिटी र बालुवा बोकेको सवारीसाधन निषेधाज्ञामा चल्न पाउँछन् कि पाउँदैनन् भनी सोधेको थियो । उनले तोकिएको समयभित्र बिहान १० देखि दिउँसो ३ बजेसम्म चल्न तथा लोडअनलोड गर्न पाउने बताए ।
उता, सीडीओ पाण्डेले जारी गरेको आदेशको बुँदा नं. ७ मा बैंकहरु जनस्वास्थ्यका मापदंड अनिवार्य पालना गर्नेगरी भिडभाड नहुने गरी मंगलबार र शुक्रबार बिहान ९ बजेदेखि १ बजेसम्म मात्र खोल्न भनिएको छ । अन्य मनीट्रान्सफर तथा वित्तीय सहकारी सस्थाहरु पूर्ण रुपमा बन्द गर्नुपर्ने आदेशमा लेखिएको छ ।
दुध, तरकारी तथा खाद्यन्नका पसल पनि खोल्न नपाइने भएको छ ।
दुध तथा तरकारी विक्रेताहरुले सम्बिन्धित सहकारी सस्थाहरुमार्फत् वा आफै जनस्वास्थ्यका मापदंड अनिवार्य पालना गरी गराई तोकिएको मोबाइल भ्यानको प्रयोग गरी टोलटोलमा गई विक्री वितरण गर्न सक्ने भनिएको छ ।
यस विषयमा पनि सीडीओ पाण्डेलाई दुध, तरकारी तथा खाद्यन्न पसल खोल्न पाइन्छ कि पाइदैन भनी तु खबरले सोधेको थियो । सीडीओ पाण्डेले दुध तरकारी तथा खाद्यन्नको कुनै पनि पसल खोल्न नपाइने गरी रोक लगाइएको बताए ।
साथै खाद्यन्नको हकमा विक्रेताले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनुमति प्राप्त सवारीसाधन प्रयोग गरी होम डेलिभरी सेवा प्रदान गर्न सक्ने आदेशमा भनिएको
छ ।
बैंकमा थामिनसक्नु भीड
सीडीओ पाण्डेले जारी गरेको आदेशमा बैंकहरु हप्ताको २ दिन मंगलबार र शुक्रबार मात्र बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मात्र खोल्नु भनिएपछि बैंकबाहिर थेगिनसक्नु भीड लाग्ने गरेको छ । सातामा २ दिनमात्रै त्यो पनि थोरै समयलाई वैंक खुल्ने भएपछि ब्यापक भीड भयो, सेवाग्राहीहरुको गुनासो छ ।