मेयर साहेबसहित दर्जनौले हतियार बुझाउन बाँकी
राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह र हेटौंडाका मेयर हरिबोल महतले अहिलेसम्म हतियार बुझाएका छैनन, तर हतियार बुझाउने समय भने सकिएको छैन ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा अनुमति लिएका हतियारहरु स्थानीय प्रशासनलाई बुझाउन सूचना जारी गरेको भएपनि हतियार राख्नेहरुले प्रशासनको सूचनालाई अवज्ञा गरिरहेका छन् ।
कानून बमोजिम स्वीकृति लिई राखिएका हतियार बुझाउन प्रशासनले आदेश जारी गरेपछि एक जनाले मात्र हतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार आजसम्म हेटौंडा १९ बस्ने चन्द्रबहादुर मगरले मात्र आफूसित भएको हतियार बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, मकवानपुरमा ४२ जनाले हतियार राखेका
छन् । सुरक्षाको लागि भन्दै अनुमति लिई राखिएको हतियार निर्वाचन अवधिसम्मका लागि बुझाउन भनिएपनि त्यतातिर कसैले चासो देखाएका छैनन् । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतसहितकाले यस्तो अनुमति प्राप्त हतियार राखेका प्रशासनको अभिलेखमा छ । कानून अनुसारै हतियार राखिएको भएपनि निर्वाचनको समयमा ती हतियारहरु स्थानीय प्रशासनको अन्डरमा रहनुपर्छ । तर, यो समाचार तयार पार्दासम्म हेटौंडाका मेयर महतसहित अन्य दर्जनौ जनाले हतियार बुझाएका छैनन् ।
कानून बमोजिम हतियार राख्नेहरुमा मकवानपुरका प्रभावशाली नेता दीपकबहादुर सिंह पनि छन् । उनले पनि स्थानीय प्रशासनलाई हतियार बुझाएका छैनन् । यसअघि स्थानीय हतको निर्वाचनमा पनि महत र सिंह दुबैले हतियार बुझाएका थिएनन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले स्थानीय प्रशासनले हतियार बुझाउन सूचित गरेकाले समयभित्रै उहाँहरुले हतियार बुझाउने बताए । नबुझाए कानून बमोमिज हुनेसमेत उनले बताए ।
मकवानपुरका प्रजिअ बुढाले पनि कडा रुपमा हतियार बुझाउन भन्न सकेका छैनन । प्रजिअले पनि एउटा सूचना निकालेर आफ्नो काम सकिएको ठानेर बस्नु हुन्न । मेयर महत देशबाहिर रहेकोले उनीसँग यस बिषयमा प्रतिक्रिया लिन पाइएन ।