यस्ता छन् गाउँका सफलताका कथा
मकवानपुर / मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन् । उमेरमा ६० नाघेका वृद्घ बाबुको साथमा बस्दा उनलाई आवश्यक शिक्षा दिशाको व्यवस्था हुन सकेन । बाबु जाँड रक्सी खाने र परिवारको वास्ता नगर्ने कारण आमा अन्तै हिडेपछि उनी समस्यामा परिन् । स्थानीय विद्यालयमा ६ कक्षा अध्ययन गर्दा गर्दै उनको पढाई छुट्यो । पढ्नुभन्दा घरायसी काममा लाग्नुपर्ने उनीमाथि बाध्यता आइलाग्यो । आर्थिक विपन्नतामा गुज्रिरहेको परिवारमा हुर्किरहेकी यी १४ बर्षिया बालिका पैसा कमाउन दैनिक ज्यालादारीमा श्रममा जाने निस्कर्षमा पुगिन् । नजिकका छिमेकी साथीहरुसंग घर बनाउँने, सडक बनाउँने लगायत श्रममा जाने भनेर योजना बनाइन् र अब कहिले देखि घर छाड्ने भनेर निधो पनि गरिन् । तर उनको योजना गाउँमा रहेको बाल संरक्षण समितिका सदस्यहरुले थाहा पाए । अनि उनलाई कसरी श्रममा जानबाट रोक्न सकिन्छ भनेर ध्यान दिन थाले ।
बालबालिकाकासंग सम्बन्धित समस्या आइपर्दा समाधानका लागि आवश्यक कार्य गर्ने समितिले कवितासंग भेट गर्यो र श्रममा जान लागेको बारे वास्तविता बुझ्यो । ‘गाउँघरमै केही शिप सिक्न पाए श्रममा जान्न ’ भन्ने कविताको विचार सुनेपछि समितिले उनलाई सिलाई कटाई सम्बन्धि सिप प्रदान गरी श्रममा जानबाट रोक्यो । अहिले १६ वर्ष पुगेकी कविताको विद्यालयको पढाई छुटेपनि शिपमुलक सिलाई तालिमबाट दक्ष बनिरहेकी
छिन् ।
कतैबाट सहायता भएमा आफ्नै टेलर्स खोलेर आत्मनिर्भर बन्ने उनको योजना छ ।
मकवानपुरको सरिखेतकी कान्छीमाया गोले(नाम परिवर्तन)को कथा पनि कविताको जस्तै छ । उनी १४ बर्षको हुँदा बाबुको मृत्यु भयो । आर्थिक रुपमा विपन्नतामा हुर्किरहेकी उनको जब परिवारमा कमाउने मान्छे नै नरहेपछि ६ कक्षाभन्दा माथि पढ्न सकिनन् । कारण, उनी गाउँघरमा मेलापात जानुपर्ने भयो । उनको दैनिकी एक प्रकारले श्रमिकको झैं भयो । बाबुको मृत्यु भएपछि विद्यालय छाडेर श्रममा संलग्न भइरहेकी उनको बारेमा गाउँमा बाल संरक्षण समितिको बैठकमा छलफल भयो । अध्ययनका लागि उनले समय दिन नसकेपनि उनलाई आवश्यक शिप प्रदान गरेर भविष्यका लागि सहयोग पु¥याउँनुपर्ने निष्कर्षमा समिति पुग्यो र उनलाई पनि सिलाई सम्बन्धि शिप प्रदान गरियो । अहिले १७ वर्षिया उनी पनि सिलाई सम्बन्धि शिपमा व्यस्त छिन् । गत पाँच महिनादेखि सिलाई सिकीरहेकी उनी सिलाई सिकेर दक्ष बन्ने योजनामा छिन् ।
जोखिममा रहेका दुई जना बालिका कविता र कान्छीमाया त उदाहरण मात्र हुन् । बाल अधिकारका क्षेत्रमा मकवानपुरमा लामो समयदेखि क्रियाशील बालकल्याण समाज मकवानपुरले जिल्ला बालकल्याण समिति मकवानपुरसंगको समन्वयमा तथा युनिसेफ नेपालको सहयोगमा सञ्चालन गरिरहेको घटना व्यवस्थापन कार्यमार्फत उनीहरुजस्ता जोखिममा रहेका बालबालिकालाई संरक्षणका लागि आवश्यक सघाउ पुर्याउँदै आएको छ ।
मकवानपुरको गाउँगाउँमा रहेका स्थानीय बाल संरक्षण समितिले पहिचान गरेका जोखिममा रहेका बालबालिकालाई आवश्यक सहयोग प्रदान गरी संरक्षण गर्ने कार्य घटना व्यवस्थापन प्रकृया प्रभावकारी बनेको पाइएको हो ।
मकवानपुरको फापरबारीका राजन थोकर(नाम परिवर्तन) का बाबुले अर्को विवाह गरी हिडेपछि घरायसी दायित्व उनको आमा माथि आयो । अति कमजोर आर्थिक अवस्थाका कारण पढाई बिचमै रोकेर कामका लागि घर नै छाड्ने निस्कर्षमा पुगेका राजन अहिले काममा होइन उच्च शिक्षा अध्ययनमा छन् । उनलाई पढाई नछोडी उच्च शिक्षा अध्ययनसम्मको व्यवस्था यही घटना व्यवस्थापन प्रकृयामार्फत गरिएको हो ।
फापरबारीकै सात वर्षीय अपाङ्गता भएका बालक (मदन दुलाल) को अभिभावकसंग सम्पतिका नाममा आफ्नो एक टुक्रा पनि जग्गा जमिन छैन । सुकुम्बासी भएका कारण सार्वजनिक जग्गामा छाप्रो हालेर बसेका उनीहरुलाई प्रहरीले छाप्रो भत्काएर लखेटेपछि अपाङ्गता भएको आफ्नो छोरा मदनलाई कसरी स्याहार गर्ने र आफू पनि कसरी बाँच्ने भन्ने चिन्ताले सतायो । गाउँमा रहेको बाल संरक्षण समितिले ठेलागाडा सहयोग गरेर तरकारी व्यवसायमा सघाउ पु¥याएपछि उनीहरुको परिवारमा अहिले केही राहत भएको छ । अपाङ्गता भएका मदनको स्याहारका लागि ठेलामा बेचिने तरकारीको कमाईले सजिलो भएको छ । अभिभावकलाई जिविकोपार्जन सहयोग प्रदान गरी बालकको संरक्षणका लागि सघाउ पुर्याउँन पाउँदा आफूलाई पनि खुसी लागेको घटना व्यवस्थापन कार्यका लागि सहजीकरण गरिरहेकी बाल कल्याण समाज मकवानपुरकी सामाजिक कार्यकर्ता सिर्जना श्रेष्ठले बताईन् ।
घटना व्यवस्थापन प्रकृया मार्फत संरक्षणका लागि जिविकोपार्जन सहयोग प्रदान गरिएको मकवानपुरको चुरियामाईकी एक बालिकाको घरमा महिला तथा बालबालिका कार्यालय मकवानपुरकी महिला विकास अधिकृत शान्ति विश्वकर्मा केही दिन अघि अनुगमन गरिन् । आमा र बाबु दुवै बेखबर बनेपछि बिचल्लिमा परेकी बालिकालाई संरक्षणका लागि सहयोग पुग्ने लक्ष्य सहित प्रदान गरिएको कुखुरापालन सहयोग अवलोकन पछि उनले खुसी व्यक्त गरिन् ।‘बाबुआमाबाट टाढिएकी बालिकालाई जिविकोपार्जन .सहयोग मार्फत संरक्षणका लागि पुर्याइएको सहयोग प्रभावकारी बन्ने पाए ।’उनले भनिन्, ‘गैरसरकारी क्षेत्रबाट हुने यस्ता महत्वपूर्र्ण सामाजिक कार्यका लागि हामी साथमा छौं । ’
बालकल्याणले युनिसेफको सहयोग तथा जिल्ला बालकल्याण समिति मकवानपुरको समन्वयमा मकवानपुरको साविक १५ वटा गाविसमा सञ्चालन गरिरहेको जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि घटना व्यवस्थापन कार्य प्रभावकारी बनेका उदाहरण गाउँगाउँमा छन् ।
मकवानपुरको आमभञ्ज्याङ्, चुरियामाई, पदमपोखरी, भीमफेदी, नामटार, सरिखेत, कालिकाटार, मनहरी, गोगने, चित्लाङ्, फापरबारी, शिखरपुर,राइगाउँ, धिया“ल र बेतिनीमा जोखिममा रहेका बालबालिका पहिचान गरी संरक्षण प्रदान गर्न घटना व्यवस्थापन कार्य गरिदै आइएको बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक सुशीलराज गिरीले जानकारी दिए ।
गाउँमा जोखिममा रहेका बालबालिका पहिचानदेखि उनीहरुलाई संरक्षणका लागि आवश्यक पर्ने सहयोगका लागि आवश्यक योजना बनाउँने कार्य स्थानीय बाल संरक्षण समितिको अग्रसरतामा हुने भएकाले पनि आफूहरुको अभियान प्रभावकारी बनिरहेको उनले बताए ।
विभिन्न कारणले जोखिममा रहेका बालबालिकालाई संरक्षणका लागि प्रदान गर्नुपर्ने सेवा पहिचान गरी जोखिमताबाट मुक्त गराउँने कार्य घटना व्यवस्थापन प्रकृयाबाट हुने भएकाले आफूहरुको अभियानबाट राज्यलाई समेत बालसंरक्षणका लागि सघाउ पुगिरहेको कार्यक्रम संयोजक गिरीको भनाई छ । उनका अनुसार जोखिममा रहेका मकवानपुरको विभिन्न गाउँका १९ जना बालबालिका तथा तिनका अभिभावकलाई शिपमुलक तथा जिविकोपार्जन सहयोग प्रदान गरिसकिएको छ । यस खालको सहयोग प्रदान गर्दा बालबालिकाको आवश्यकता बमोजिम २० हजार रुपियासम्मको सहयोग प्रदान गर्ने गरिएको छ । यस्तै, आपतकालीन अवस्थामा पाँच हजार रुपियासम्म सहयोग प्रदान गरी बालअधिकार प्रत्याभूत गर्नका लागि पनि गाउँगाउँमा घटना व्यवस्थापनको काम भइरहेको पाइएको छ ।
मकवानपुरको साविक विभिन्न १५ वटा गाविसका अलावा संरक्षण आवश्यकता भएका विभिन्न क्षेत्रमा रहेका बालबालिकालाई आपतकालीन, जिविकोपार्जनका लागि आर्थिक सहायतादेखि मनोवैज्ञानिक परामर्श, सेवा प्रदानका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने जस्ता कार्य परियोजनाभित्र रहेर आफूहरुले गरिरहेको समाजका जिल्ला कर्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए ।
उनका अनुसार परियोजना अवधिभर मकवानपुरमा जोखिममा रहेका ५० जना बालबालिकालाई पाँचहजार रुपिया बराबरको आपतकालीन् सहयोग र २० जना बालबालिकालाई २० हजार रुपिया बराबरको जिविकोपार्जन सहयोग प्रदान गर्ने लक्ष्य छ ।
परियोजनामा समन्वय गर्दै आइरहेको जिल्ला बाल कल्याण समिति मकवानपुरका सूचना व्यवस्थापन अधिकृत रवि हमाल जोखिममा रहेका बालबालिकालाई संरक्षण प्रदान गर्नका लागि अपनाइएको घटना व्यवस्थापन प्रकृया वैज्ञानिक रहेकाले पनि प्रभावकारी रहेको बताउँछन् । भन्छन्,‘ जोखिममा रहेकाको पहिचान गर्ने, आवश्यकता पहिचान गरी सघाउ पुर्याउने र नियमित फलोअप गर्ने भएकाले घटना व्यवस्थापन प्रकृया वैज्ञानिक छ । ’ बालअधिकार र बाल संरक्षणका क्षेत्रमा क्रियाशील सरकारी तथा गैर सरकारी संघसंस्थाले घटना व्यवस्थापन प्रणाली अवलम्बन गर्नु आवश्यक रहेको उनको भनाई छ ।