बागमती प्रदेशमा सवारीसाधनको राजश्व अब अनलाइनमार्फत भुक्तानी हुने
मकवानपुर । बागमती प्रदेशमा सवारीसाधनको राजश्व अब अनलाइमार्फत भुक्तानी हुने भएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले प्रदेशमा रहेको सवारीसाधनहरुको राजश्व अनलाइनमार्फत नै भुक्तानी गर्ने व्यवस्था मिलाएको हो ।
उक्त व्यवस्थाको आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा अयोजित एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले हेटौँडा निवासी यातायात सवारी धनी चिन्तामणि फुयालले राजश्वबापत रु ५ हजार अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई क्लिक गरी शुभारम्भ गरेका हुन् ।
सो आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो कार्य सम्पादनलाई पारदशी सुसाशन ल्याई जनतालाई आर्थिक सम्बृद्धितर्फ जोड्ने प्रमुख लक्ष्य रहेको बताए ।
उनले प्रदेशका करिब २० लाख सवारी धनीहरुलाई कम समयभित्र झन्झट व्यहोर्न नपर्ने गरी राजश्व अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गरे ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको प्रमुख स्रोतको रुपमा रहेको यातायात राजश्वलाई असुलीमा थप तीब्रता ल्याई चालु आव ७८/७९ मा करिब २० अर्ब राजश्व असुली गर्ने लक्ष्य रहेको बताए ।
सो कार्यक्रममा प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेल,भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाल, प्रदेश मुख्यमन्त्री परिषदका मुख्य सचिव डा. मुकुन्द प्रसाद पौड्याल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बराल र उक्त मन्त्रालयका महाशाखा प्रमुख नविन कुमार सिंह मनतव्य व्यक्त गरेका थिए ।