आगलागीबाट डेढ करोड क्षति
काठमाडौँ, २३ कात्तिक । मुलुकका विभिन्न स्थानमा भएको आगलागीबाट करिब डेढ करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ताप्लेजुङ,सोलुखम्बु, बाग्लुङ र काठमाडौँमा आगलागी भएको हो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ बस्ने ६१ वर्षीय डण्डु शेर्पाको घरको भान्सा कोठाबाट बुधबार आगलागी हुँदा नजिकैको जण्डोल शेर्पाको २ तले घरमा समेत आगो लागेको छ ।
उक्त घरको आधा भाग तथा डण्डु शेर्पाको घरमा रहेको नगद १५ लाख रुपैयाँ, युरो ६ सय, अमेरिकी डलर ८ सय, सुन ५ तोला, लत्ताकपडा, अन्नपात, भाँडावर्तन समेत दुबैजनाको गरी करीव १ करोड २४ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । आगो निभाउने क्रममा शेर्पा आगोले जलेर घाइते भएकोले स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीका सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
त्यस्तै सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ बस्ने ईलामान राईको ढुङगा माटोले बनेको फुसको छानो भएको तिन तल्ले घरमा मंगलबार करेन्ट सर्ट भई आगलागी हुदाँ करीव ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
बाग्लुङको बरेङ गाउँपालिका–२ सुडला बस्ने ४८ बीर बहादुर नेपालीको घरमा रहेको झरना मोबाईल पसलमा गएराति करेन्ट सर्ट भई आगलागी हुदाँ करीव ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
काठमाडौँको शंकरापुर नगरपालिका–९ सानागाँउ बस्ने भरत कार्कीको गोठमा मंगलबार करेन्ट सर्ट भई आगलागी हुदाँ करीव २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।