बागमती प्रदेशमा जलस्रोत, सिचाई तथा तटबन्धतर्फ टुक्रे योजना धेरै

तु खबर संवाददाता
२०७८ श्रावण २०,बुधबार १६:१३

मकवानपुर । बागमती प्रदेशमा जलस्रोत, सिचाई तथा तटबन्धको क्षेत्रमा टुक्रे योजना धेरै भएकोले गुणस्तरीय र लक्ष्यअनुसारको नतिजा हात पार्न नसकिएको जलस्रोत तथा उर्जा विकास महाशाखा हेटौंडाले जनाएको छ ।

भौतिक पुर्वाधार विकास मन्त्रालय बागतमी प्रदेशले मंगलबार हेटौंडामा आयोजना गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति समिक्षा कार्यक्रममा महाशाखाका प्रमुख इन्जिनियर मेघराज अवस्थीले जलस्रोत तथा सिचाई र तटबन्धका टुक्रे योजनाहरु धेरै हुँदा काम गर्न समस्या हुने गरेको बताएका हुन् ।

टुक्रे योजना धेरै भएकोले एक बर्षमा ६० वटा मात्रै योजनाहरुको काम गर्न सकिने उनले बताए ।

साना योजनाहरुको बजेट कम हुने भएपनि इस्टमेट तयारी, अनुगमन, बिल तयारीको लागि प्राविधिक कामको लागि प्रति योजना ६ दिन लाग्ने भएकाले वार्षिक रुपमा ६० वटा मात्र योजनाहरुमा काम गर्न सकिने उनको भनाई छ ।

मन्त्रालय मार्फत् आर्थिक वर्ष २०७७/०७८ मा २४ प्रतिशत योजनाहरु १० लाखसम्मका, ३६ प्रतिशत योजनाहरु २० लाखसम्मका, २६ प्रतिशत योजनाहरु ५० लाखसम्मका, १० प्रतिशत योजनाहरु १ करोडसम्मका र ४ प्रतिशत योजनाहरु १ करोड भन्दा माथिका रहेको जनाइएको छ ।

महाशाखाले गत आर्थिक वर्षमा ८१.४ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ भने वित्तीयतर्फ ७७.४ प्रतिशत प्रगति गरेको छ ।
महाशाखा अन्तर्गतका १३ जिल्लाका १६ वटा कार्यालयबाट प्रदेशको चालुतर्फ ८३.५ प्रतिशत प्रगति गरेको छ भने पुँजीगत तर्फ ८० प्रतिशत प्रगति गरेको छ ।

संघीय सरकारको शसर्त अनुदानमा महाशाखाले ७७.४ प्रतिशत प्रगति हात पारेको महाशाखाले जनाएको छ ।

महाशाखाले गत आर्थिक वर्षमा प्रदेश सरकार र संघीय सरकारको शसर्त तर्फको अनुदानको कुल बजेटको २ अर्व ८ करोड रुपैयाँ खर्च गरेको
छ ।

गत आर्थिक वर्षमा महाशाखाले सिंचाईका ४ सय ९४ वटा, तटबन्धन, नदी नियन्त्रण, बस्ती संरक्षणका १ सय ४३ वटा र ग्रामिण विद्युतीकरण, नवीकरणीय उर्जा, सौर्य उर्जा सम्बन्धी २७ वटा योजनाहरु कार्यान्वयनमा गरेको थियो ।