विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ

तु खबर संवाददाता
२०७८ श्रावण २७,बुधबार १०:०८
file-photo

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले मंगलबार जानकारी गराएको छ । योसँगै मन्त्रालयले घिसिङलाई बुधबार नियुक्ति पत्र दिने तयारी गरेको छ ।

यसअघि प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य रहेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिएको थियो ।

सोही अनुरुप मन्त्री भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई सरकारले उचित जिम्मेवारी दिने गरी निर्णय गर्ने भन्दै पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।

सोहीअनुसार सरकारले घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

शाक्यले पनि सरकारले आफूलाई ससम्मान दिने अर्को जिम्मेवारीमा जान तयार रहेको बताउँदै आएका छन् ।