एसिया प्यासिफिक सह–संयोजक पदमा सुवेदीको उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०७८ भाद्र १६,बुधबार १४:१८

दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रियको आगामी अक्टोबरमा हुने दशौँ महाधिवेशन तथा निर्वाचनमा एसिया प्यासिफिक सह–संयोजक पदमा यज्ञराज सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए दक्षिण कोरियाका निर्वतमान अध्यक्षसमेत रहेका सुवेदीले ‘संस्थागत सुधार, सहभागितामूलक एनआरएनए, विदेशमा शिप आर्जन स्वदेशमा स्वरोजगार’ भन्ने नाराका साथ क्षेत्रीय सह–संयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आम श्रमिक तथा मजदुर वर्गसङ्ग हातेमालो गर्दै उनीहरुको समस्या नजिकैबाट बुझेका सुवेदीले श्रमिक वर्गलाई नै लक्षित गरेर आफ्नो चुनावी प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् ।

२ दशकदेखि कोरियामा बस्दै आएका सुवेदी गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद् दक्षिण कोरियाको संस्थापक सदस्य हुन् । उनले २०१२ देखि २०२१ सम्म एनआरएनए केन्द्रिय विधान संसोधन समितिको सदस्य भएर समेत काम गरिसकेका छन् ।

उनी सन् २०२१ देखि २०२३ को दक्षिण कोरिया एनआरएनएको मुल व्यवस्थापन समिति प्रमुखको रुपमा अहिले पनि काम गरिरहेका छन् ।

कोरियामा रहेका नेपालीहरुको शुख दुःखमा सहभागि हुँदै उनले एनआरएनए दक्षिण कोरियाको अध्यक्ष छँदा निकै लोकप्रिय काम गरी चर्चा बटुल्न सफल भएका
थिए ।

विभिन्न सामाजिक सङ्घसंस्थामा काम गरेको अनुभव, एनआरएनए दक्षिण कोरियाको अध्यक्ष भएर काम गर्दाको अनुभव तथा विभिन्न पेशा व्यवसायमा मजदुरहरुको आपसी साथ र सहयोगबाट खारिएका सुवेदीले आफ्नो ५ बुँदे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

एनआरएनएको संस्थागत संरचनाको सबलिकरण तथा सुधार, समावेशीता तथा पारदर्शीतालाई उनले चुनावी प्रतिवद्धतापत्रमा प्राथमिकताका साथ उल्लेख गरेका
छन् ।

त्यस्तै कोभिड १९ का कारण रोकिएका तथा रोजगार गुमाएकाहरुको रोजगारको सुनिश्चितताको लागि सहजिकरण गर्ने, दोस्रो पुस्ताको लागि निःशुल्क अनलाइन नेपाली भाषा तथा संस्कृति सिकाउने शनिवारे विद्यालयको अवधारणा अनुसार काम गर्ने, विदेशमा रहँदा शिप तथा प्रशिक्षण, स्वदेश फिर्तीसंगै स्वरोजगार तथा स्वावलम्बनको नीति अनुसार काम गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

त्यस्तै एनआरएनएमा पुस्ता हस्तान्तरण गर्दै युवा तथा विद्यार्थीहरुको सहभागिताको पक्षमा वकालत, ज्ञान शिप र प्रविधि हस्तान्तरणमा शसक्तिकरण गर्ने उनले उल्लेख गरेका छन् ।

प्रत्येक २/२ बर्षमा हुने एनआरएनएको निर्वाचन एस पटक भने कोरोना संक्रमणको जोखिमका कारण अनलाइन भोटिङमार्फत गर्ने तयारी भइरहेको जनाइएको छ ।