शेरबहादुरलाई भेटेको र बर्षमान पुनमाथि गोली हानेको कुरा हावादारी : नेकपा प्रवक्ता प्रकाण्ड
काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका कसैले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नभेटेको जनाएको छ । सो पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्डले नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले शेरबहादुर देउवालाई भेटेको भन्ने कुरा निराधार भएको बताएका हुन् । उनले नेकपाको बद्नाम हुने गरी हावादारी समाचार नलेख्न पनि सञ्चारमाद्यमलाई आग्रह गरेका छन् । पार्टीका विरुद्ध भ्रम उत्पन्न गर्न र आफ्नो सस्तो स्वार्थ पूरा गर्न समाचारको सामान्य सिद्धान्त समेत पूरा नगरी सुनियोजित रुपमा केही सञ्चारमाध्यम लागेको भन्दै त्यस्ता कार्य बन्द गर्न पनि प्रवक्ता प्रकाण्डले आग्रह गरेका छन् ।
केही दिन अघि माओवादी केन्द्र निकट अनलाइन सञ्चारमाध्यममा नेकपाका महासचिव विप्लव र प्रवक्ता पकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको र त्यसबारे पार्टीमा विवाद चलेको भन्ने समाचार प्रकाशित भएको थियो ।
प्रवक्ता प्रकाण्डले अहिले माओवादी केन्द्रका नेताहरु एकातिर आफै भ्रमपूर्ण समाचार लेखाउने र लेख्ने अनि अर्कोतिर त्यही समाचार पढेर नेकपाका विरुद्ध गाली गर्नतिर पनि लागेको बताए । साथै माओवादी केन्द्रका मान्छेहरु अत्यन्तै कल्पना गरेर विवादास्पद र भ्रमपूर्ण समाचार लेखाउने र ती समाचार मिडियाको सिद्धान्त र मुल्य मान्यता समेत थाहा नपाउने कमजोर अनलाइन सञ्चारमाध्यममा पठाएर छपाउनतिर पनि लागेको प्रवक्ता प्रकाण्डले बताए । नेकपाको नेतृत्वमा नेपालमा क्रान्ति अगाडि बढिरहेको कुरा बुझ्न प्रचण्डलाई आग्रह गर्दै त्यसलाई बदनाम गर्ने र भ्रम उत्पन्न गर्ने कार्यमा नलाग्न चेतावनी दिए ।
प्रवक्ता प्रकाण्डले केही दिन अघि रोल्पामा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तमाथि नेकपाका कार्यकर्ताले गोली हानेको भन्ने कुरा पनि गलत भएको बताए ।
त्यसदिन रोल्पामा उल्टै प्रहरीले आतंकित भएर अनन्तकै निर्देशनमा स्थानीय सर्वसाधारण जनतामाथि गोली चलाएको बताए । जनयुद्धकालमा सहादत प्राप्त गर्ने सहिदका परिवारले अनन्तको प्रचार टिममाथि ढुंगा हानेको खबर आफ्नो च्यानलमा आएको प्रकाण्डले जानकारी गराए । स्थानीयले ढुंगा हानेपछि अनन्तको चुनावी प्रचारप्रसार टोली र उनको सुरक्षामा गएको प्रहरीले आतंकित भएर अन्धाधुन्ध फायरिङ गरेको बताए ।