सर्वदलीय बैठकको निश्कर्ष: एमाले वार्ता र संवादबाट भाग्न खोज्यो

तु खबर संवाददाता
२०७८ आश्विन १४,बिहीबार १४:०५

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले वार्ता र संवादबाट नेकपा एमाले भाग्न खोजेको निश्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले सहभागी नभएपछि सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलहरु उपस्थित हुनुभयो तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज उपस्थित भएन । उहाँहरुले संसद अवरोध गरिरहनुभएको छ’, बैठकपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले संचारकर्मीहरुसंग भने ।’ सोही विषयमा वार्ता र संवाद गर्न बैठक आह्वान गरिएको भएपनि एमाले उपस्थित नभएपछि वार्ता र संवादबाट भाग्न खोजेको देखिएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा एमाले अनुपस्थित भएपनि फेरिफेरिका बैठकमा उपस्थित हुने अपेक्षा व्यक्त गरेका थिए । ‘फेरि फेरि पनि म उहाँहरुलाई आमन्त्रण गर्छु, उहाँहरु आउनुहुनेछ र आफ्नो कुराहरु राख्नुहुनेछ’, देउवाको भनाइ उदृत गर्दै कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए । त्यस्तै बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि नेकपा एमाले र उक्त पार्टीका नेता केपी शर्मा ओलीले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बैठकले आग्रह गरेको छ । नेकपा एमालेको अवरोधका कारण संघीय संसद लगातार अवरुद्ध हुदै आएको छ । प्रतिनिधिसभा संसदमा ३३ वटा र राष्ट्रियसभामा पेश भएका २७ वटा विधेयक अलपत्र छन् ।