सरकारद्वारा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिस अनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा नामसारी भएको पाइएको थियो । पदको दुरुपयोग गर्दै छोरीको नाममा शेयर नामसारी गराएको आरोप लागेपछि सरकारले ढुंगानामाथि जाँचबुझ गर्न पूर्वन्यायाधीश डुम्रको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अध्यक्ष ढुंगानाका छोरी रेबिकाको नाममा बोनस समेत जोडेर करिब १२ हजार कित्ता शेयर रहेको जनाइएको छ ।