बेमौसमी वर्षा : बागमतीमा रु ५ करोड ८१ लाख बराबरको धानबाली नष्ट
मकवानपुर । बेमौसमी वर्षाका कारण बागमती प्रदेशमा रु ५ करोड ८१ लाख बराबरको धानबाली नष्ट भएको छ । प्रदेशको भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार, प्रदेशमा गत आसोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षाका कारण प्रदेशभर धानखेती गरिएका कुल एक लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमध्ये ५ सय ३० हेक्टरमा लगाइएकको धानबाली नष्ट भएको हो ।
प्रदेशका विभिन्न जिल्लामा लगाइएको धानखेती मध्ये २ हजार ६८.६ मेट्रिक टन धान क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत साताबाट प्रदेशका विभिन्न जिल्लाको कृषि ज्ञान केन्द्र तथा स्थानीय तहबाट बेमौसमी वर्षाले कृषि क्षेत्रमा पुर्याएको क्षतिको विवरण संकलन गरिएको थियो । त्यस्तै, बेमौसमी वर्षाले बागमती प्रदेशको ७ हजार ५ सय हेक्टरमा लगाइएको कृषि बालीमा पनि क्षति पुर्याएको जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार, प्रदेशको चितवनमा २ सय ९७, मकवानपुरमा ८०, धादिङमा ७५, रसुवामा १, सिन्धुलीमा ३३, नुवाकोटमा ३०, रामेछापमा ५, दोलखामा ४, काभ्रे र सिन्धुपाल्चोकमा ३/३ हेक्टर क्षेत्रफलमा गरिएको धानमा क्षति पुगेको छ ।
वर्षाका कारण मकवानपुरमा ८७ लाख ६७ हजार २ सय रुपैयाँ, चितवनमा ३ करोड २५ लाख ३७ हजार रुपैयाँ, धादिङमा ८१ लाख ९७ हजार रुपैयाँ, नुवाकोटमा ३ करोड २४ लाख ९३ हजार रुपैयाँ, रसुवामा १ लाख ९ हजार, रामेछापमा ५ लाख ५४ हजार रुपैयाँ, रसुवामा ४ लाख ५ हजार, सिन्धुलीमा ३६ लाख ६४ हजार रुपैयाँ काभ्रे र सिन्धुपाल्चोकमा ३ लाख २८ हजार रुपैयाँ बराबरको धान खेती नष्ट भएको मन्त्रालयको तथ्याङ्क रहेको छ । उक्त तथ्याङ्कका आधारमा मन्त्रालयले क्षति व्यहोरेका कृषकहरुलाई नीतिगत रुपमा राहत उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ ।