बागमती प्रदेशः को–को बन्दैछन् मन्त्री ?

तु खबर संवाददाता
२०७८ कार्तिक ११,बिहीबार ०९:०४

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदैछन् । कांग्रेस, माओवादी र जसपाको ५९ सांसदको समर्थन जुटाएर पाण्डेले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दावी पेश गरेका थिए । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ सरकार गठनका लागि प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई आफ्नो दावी पेश बुधबार आह्वान गरेसँगै पाण्डेले आफ्नो दावी पेश गरेका थिए ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक संस्कार कायम राख्ने भन्दै बुधबार प्रदेश प्रमुख शर्मासमक्ष राजीनामा पेश गरेकी थिएन । बहुमत सांसदको समर्थन रहेको भन्दै नेता पाण्डेले दावी पेश गरेपछि उनको नेतृत्वमा गठबन्धनका तर्फबाट सबै दलका उप नेताहरु मन्त्री रहने नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिएका छन् । दलका नेताहरुले गठबन्धनका तर्फबाट नेतृत्व गर्ने मन्त्री र मन्त्रालयको विषय पनि टुङ्ग्याइसकेको उनले बताए ।

उनका अनुसार तत्काल प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट दलकी उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादी दलका उप–नेता कृष्ण खनालले जिम्मेवारी पाउने छन् । सरकारमा जाने मन्त्रीहरु मध्ये माओवादीले आर्थिक मामिला, काँग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी पाउने बताइएको छ ।

नेकपा माओवादी केन्द्र दोस्रो पटक सरकारमा जाँदैछ । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी शालिकराम जम्मकट्टेल र युवराज दुलालले पाएका थिए । राजेन्द्र पाण्डेको नेतृत्वमा भने कुमारी मोक्तानले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । तिहारलगत्तै मन्त्रिपरिषद् विस्तार गरी माओवादीलाई थप मन्त्रालय दिने तयारी गरिएको स्रोत बताउँछ ।

यता, कांग्रेस भने पहिलो पटक सरकारमा जाँदैछ । भक्तपुरबाट निर्वाचित सांसद एवम् कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ । कांग्रेसबाट इन्द्र बानियाँ र नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे आलो पालो आधा–आधा समय मुख्यमन्त्री बन्ने गरी गठबन्धनमा सहमति भएको थियो ।

नेकपा एकीकृत समाजवादीकै चितवनबाट निर्वाचित सांसद कृष्ण खनाल पनि आज मन्त्री नियुक्त हुँदैछन् । अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एमालेबाट सामाजिक विकासमन्त्री नियुक्त भएका खनालले केही दिनमा नै राजीनामा दिई नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई पुनः सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ । जसपाका प्रेम तामाङ्को विषयमा भने कुनै टुंगो लागिनसकेको स्रोत बताउँछ ।