प्रधान सेनापति शर्माद्वारा चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास

तु खबर संवाददाता
२०७८ कार्तिक १७,बुधबार १६:२१

मकवानपुर । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका वडा नम्वर –६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको आज एक समारोहकाबीच शिलान्यास गरेका छन् । उनले गढी परिसरमा राष्ट्रिय झण्डोतोलनसमेत गरेका छन् । उक्त समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले चिसापानी गढीसहित देशभरका गढीहरुले देशको सिमा रक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै यसको संरक्षण गर्न आवश्यक रहेको बताए । लामो समयदेखि राज्यको नरजमा पर्न नसकेको सो गढीको संरक्षणमा अहिले भीमफेदी गाउँपालिकाले सक्रियता देखाएको भन्दै उनले खुशी व्यक्त गरे ।

उनले अन्य स्थानमा रहेको विभिन्न गढीलाई पनि संरक्षण गर्न आवश्यक रहेको बताए । नेपाली सेनाले यस गढी र देशभर भएका यस्ता गढीको संरक्षणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आवश्यक परेको खण्डमा सहयोग गर्न सदैव तयार हुने प्रतिवद्धतासमेत जनाए । उनले देशभरका गढीहरुको संरक्षणको कार्यलाई राज्यपक्षले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाई प्रविधियुक्त विकास गरिँदै लैजानुपर्ने बताए ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिका उपाध्यक्ष पावर्ती राना, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरुलगायतको उपस्थिति रहेको थियो ।