कांग्रेस मकवानपुरको प्रतिनिधिसभा निर्वाचन आज
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत मकवानपुरको प्रतिनिधिसभाको निर्वाचन आज (सोमबार) हुँदैछ । निर्वाचन प्रतिनिधिसभा क्षेत्र नम्वर १ को हेटौंडा उपमहागनरपालिका वडा नम्वर ४ स्थित रोयल पार्टी प्यालेसमा र क्षेत्र नम्वर २ को हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित डल्फिन चौरमा हुने नेपाली कांग्रेस मकवानपुर जिल्ला निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय अनुसार, दुबै स्थानमा महाधिवेशन प्रतिनिधिसभाको निर्वाचन बिहान ७ बजेदेखि सुरु भइसकेको छ । उक्त अवधिमा जिल्लाभरका क्रियाशील सदस्यहरु आ–आफ्नो क्षेत्रमा उपस्थित रहने जनाइएको छ । महाधिवेशनको लागि कांग्रेस मकवानपुरको प्रतिनिधसभाअन्तरगत क्षेत्र नम्वर १ बाट दामोदर खनाल र २ बाट लोकबहादुर मुक्तानले आफ्नो प्यानल घोषणा गरेका छन् ।
यस्तै, सोही पदको लागि क्षेत्र नम्वर १ बाट धर्म लामिछाने र प्रतिनिधिसभा क्षेत्र नम्वर २ बाट इश्वरनाथ पौडेलले पनि उम्मेदवारी घोषणा गरेका छन् । पौडेलको नेतृत्वमा सचिवमा रमेश ढकाल र सह–सचविमा कुमार केसीले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । यसैबीच मुक्तान र खनालले आइतबार हेटौंडामा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्यानल घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले आज हुने प्रतिनिधिसभा अधिवेशनमा क्षेत्र नम्वर १ को क्षेत्रिय सभापतिमा रहेको बताउँदै आफ्नो प्यानलको सचिवमा दोर्जे लामा स्याङ्तान र कविन संगामी, सह–सचिवमा मुना पाठक र इन्द्रबहादुर मुक्तान रहेको बताए । साथै उनले सदस्यहरुमा भर्ने छलफल हुन बाँकी रहेको बताए ।
यस्तै, पत्रकार सम्मेलनमा मुक्तानले क्षेत्र नम्वर २ बाट क्षेत्रिय सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताउँदै आफ्नो प्यानलको सचिवमा थलबहादुर थापा (सन्तोष) र बलराम घिमिरे, सह–सचिवमा निर्मला रुम्बा र विनोद थापा रहेको बताए । सो क्रममा कांग्रेस मकवानपुरमा सभापति इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस १४ औं महाधिवेशनकोलागि पार्टी सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा विजयी गराउन मकवानपुर १ बाट खनाल र २ बाट मुक्तानको प्यानलसहित उम्मेदवारी घोषणा गरिएको बताए । उनले पुनः एक पटक देउवालाई सभापतिको जिम्मेवारी दिन उम्मेदवारी रहेको बताए ।