हेटौंडामा बहुउद्देश्यीय भवन निर्माणको लागि सम्झौता

तु खबर संवाददाता
२०७८ मंसिर २१,मंगलवार ०९:४१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा १३ तलाको बहुउद्देश्यीय भवन निर्माण गर्नका लागि सम्झौता गरिएको छ । सोमबार उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको रोहबरमा प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई र लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋशी बानियाँका बिचमा सम्झौतामा हस्ताक्षर गरिएको हो ।

कुल ७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का आवहान गरिएकोमा ४७ करोड ९३ लाख रुपैयाँ ७२ हजार रुपैयाँ लागतमा लामा, रसुवा, बानियाँ जेभीले ठेक्का सकार गरेर सम्झौता गरिएको हो । हेटौंडामा सबै भन्दा धेरै रकम लगानीमा हेटौंडाको बसपार्कमा बस टर्मिनल, थानाभर्याङमा तरकारी थोक बजार र सम्झौता गरिएको बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको मेयर हरि बहादुर महतले बताए । उपमहानगरपालिकाको ठुलो लगानी भएका तीन वटा भवन मध्य दुइ वटाको काम भइरेको छ ।

तरकारी थोक बजार प्रदेश सरकार र उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको हो भने अरु दुइवटा भवन भने उपमहानगरपालिकाले आफ्नै लगानीमा निर्माण गर्न लागेको उनले बताए । हुप्राचौरमा निर्माण हुन लागेको बहुउदेसीय भवन भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागत निस्कीएको थियो । त्यस बाहेकमा ठेक्का आवहान गर्दा ७७ करोड ७६ लाखमा लागत अनुमान गरिएको थियो । कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरेको छ ।

१३ तले भवनमा दुइ तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइ वटा भर्याङ, सबै भन्दा माथी भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले बताए । ब्यापारीक भवनको सबै भन्दा माथी भ्यूटावेरबाट हेटौंडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सकिने छ । तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको उपमहानगरपालिकाका योजना महासाखाका प्रमुख सत्यनारायण साहले बताए । उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमानै सकाउने लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋसी बानियाँले बताए ।