निर्माण सम्पन्न नहुँदै भत्काइयो बासुदेव सभागृह !

तु खबर संवाददाता
२०७८ पुष २,शुक्रबार १३:३०

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बहुआयामिक स्रोतको रुपमा प्रयोग गर्ने योजना अनुसार निर्माण सुरु गरेको बासुदेव सभागृह निर्माण सम्पन्न नहुँदैे भत्काइएको छ । विसं २०६० सालमा तत्कालिन हेटौंडा नगरपालिकाले हुप्रचौरमा निर्माण सुरु गरेको सभागृह सम्पन्न नहुँदै अहिले भत्काइएको हो । हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको उक्त सभागृह निर्माणाधीन अवस्थामै थियो । त्यसबेला विभिन्न कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महशुस भएपछि अधिकारीकै पहलमा स्थानीय विकास मन्त्रालय र नगरपालिकाको संयुक्त २ करोड ५० लाख लागतमा सभागृह निर्माण सुरु गरिएको थियो ।

सभागृह निर्माणाधीन रहँदै नगरप्रमुख अधिकारीको कार्यकाल सकिएपछि त्यसलाई पूर्णता दिनेतर्फ कसैले चासो देखाएन । फलस्वरुप निर्माण प्रारम्भ भएको १८ बर्ष बितिसक्दा पनि सभागृह प्रयोगमा आउन सकेन, बरु दिनप्रतिदिनि खण्डहर बन्दै गयो । बेबारिसे अवस्थामा रहेको उक्त सभागृहको संरक्षण गर्ने नारा लिएर चुनाव जितेका मेयर हरिबहादुर महतले ४ बर्षसम्म त्यसको संरक्षणमा सिन्कोसमेत भाँचेनन् । बरु, उपमहानगरकै स्वामित्वमा रहेको सभागृहको अस्तित्वनै मेटाउनेतर्फ अग्रसर भए ।

तत्कालिन समयमा नगरसभा तथा अन्य कार्यक्रम गर्न हल अभाव भएपछि सभागृह निर्माणको थालनी गरिएको थियो । त्यसकै लागि राज्यको ढुकुटीबाट करोडौँ रकम खर्च पनि भयो । सभागृहलाई संरक्षण गरेर प्रयोगमा ल्याउँदा उपमहानगरपालिकालाई विभिन्न सभा÷सम्मेलन तथा कार्यक्रम खर्च बापतको लाखौँ रुपैँया आर्थिक भार कम हुनेथियो । उपमहानगरले आफ्नै कार्यक्रम तारे होटलमा लाखौँ खर्च गरेर आयोजना गर्दै आएको छ । तर, बहुआयामिक स्रोतको रुपमा प्रयोग हुने सभागृह भने भत्काएको हो ।

मेयर महतले सो भवन प्राविधिक रुपमा त्रुटिपूर्ण रहेकोले प्रयोगमा नल्याई भत्काइएको प्रतिक्रिया दिँदै आएका छन् । तर, भवन किन त्रुटिपूर्ण भयो ?, त्यसको प्राविधिक को हो ?, कमजोरी कसको भयो ?, भन्ने विषयमा उपमहानगरपालिकाले कुनै तथ्य सार्वजनिक गर्न चाहेको छैन । उपमहानगरले सो क्षेत्रमा बृहत व्यापारिक भवनसहित मनोरञ्जनका लागि भ्यू टावरको निर्माण गर्ने तयारी गरेको छ । जनताको करबाट निर्माण भएको सो सभागृह भत्काएर पुनः अर्को भवन निर्माण गर्दा राज्यको ढुकुटीको दुरुपयोग हुन पुगेको छ । उपमहानगरले सभागृह भत्काएर बासुदेव स्मृति कमर्सियल भ्युटावर बनाउने योजना अघि सारेको हो । उपमहानगरले आयस्रोत बृद्धि गर्ने लक्ष्यसहित मनोरञ्जनका लागि कमर्सियल कम्प्लेक्ससहितको भ्यू टावर निर्माणको थालनी गरेको हो ।

प्रदेशसभाको छैन आफ्नै भवन

मुलुक संघीयतामा गएपछि प्रदेश संरचना कायम भयो । ७ प्रदेशमध्ये बागमती प्रदेशको राजधानी हेटौंडा कायम भयो । बागमती सरकार संचालनको लागि भवन अभाव देखिएपछि पुराना भवनहरुलाई प्रयोग गर्ने विषयमा तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले निकै चासो देखाए । सार्वजनिक कार्यक्रमहरुमा उनले बासुदेव सभागृहलाई संरक्षण गरी प्रदेशसभा सचिवालयको रुपमा विकास गर्ने आश्वासन बाँड्दै हिँडे । तर, कार्यान्वयनमा उनले ठोस् कदम भने चालेनन् । पौडेलको साढे ३ बर्षे कार्यकालमा न प्रदेशसभाको आफ्नै भवन बन्यो, न सभागृहको संरक्षण नै भयो । प्रदेशसभा सचिवालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा संचालनमा रहेको छ ।

बागमती प्रदेशले यो अवधिमा विभिन्न कार्यक्रम, तालिम गोष्ठि तथा सेमिनारहरु तारे होटलमा आयोजना गर्दै आएको छ । जसमा प्रदेश सरकारले करोडौँ बजेट खर्च गरेको छ । तर, निर्माण सम्पन्न गर्न करिब २ करोड लागत अनुमान गरिएको उक्त सभागृहलाई पूर्णता दिनुको सट्टा भत्काइयो । करीब ६ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको सभाहल संरक्षण गर्न सकेको भए यसले उपमहानगरपालिकाको आम्दानीमा निकै सहयोग पुर्याउने थियो ।

सभागृह भत्काएर भ्यूटावर

हेटौंडा उपमहानगरपालिकाले सभागृह भत्काएर बासुदेव स्मृति कमर्सियल भ्युटावर बनाउने तयारी गरेको छ । उपमहानगरले भ्युटावर बनाएर स्थानीयलाई मनोरञ्जन दिने र कार्यालयको आन्तरिक आयस्रोत बढाउने योजना लिएको जनाएको छ ।

भ्युटारबाट हेटौंडाको दृश्यावलोकनसँगै बैंक तथा वित्तिय संस्था, व्यापारिक प्रयोजनका लागि सटर बनाउने योजना कार्यालयको छ । बागमती प्रदेश सरकार र उपमहानगरको साझेदारीमा बन्न लागेको बासुदेव स्मृति कमर्सियल भ्युटावरको लागि ४ करोड बजेट विनियोजित भइसकेको छ । भ्युटार बनाउन हेउमनपाले १ विगाह जग्गा छुट्याइसकेको छ ।

विरोधकै उपमहानगरले सभागृह भत्काएर सोही स्थानमा १३ तलाको बहुउद्देशीय भवन निर्माणका लागि मंसिर अन्तिम साता निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र लामा/रसुवा/बानियाँ जेभीका सञ्चालक ऋषि बानियाँले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कुल ७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा काम गर्ने गरी लामा/रसुवा/बानियाँ जेभीसँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए ।

उपमहानगरको कदम गलत : मधु अधिकारी

तत्कालिन नगरप्रमुख मधु अधिकारीले सभागृहको उपयोगीता र आवश्यकता बढिरहेको अवस्थामा उपमहानगरपालिकाले सभागृहको संरक्षण गर्नुको सट्टा भत्काउनु गलत भएको प्रतिक्रिया दिए । ‘हेटौंडामा त्यतिबेला एउटा सभागृह बनाउन पाए हुने भन्ने सबैको चाहाना थियो । म नगरप्रमुख भएपछि स्थानीय विकास मन्त्रालयको जगेडा कोष र नगरपालिकाको संयुक्त लागतमा निर्माण थालनी गरिएको हो । स्थानीय विकासमन्त्री कमल थापाले त्यसको उद्घाटन गर्नुभएको हो । हेटौंडा अहिले प्रदेशको राजधानी भएको छ, सभागृहको आवश्यकता र उपयोगीता झन बढेर गएको छ । यसको संरक्षण गरिनुपथ्र्यो ।’ उनले भने ।

‘हामी अहिले पनि नगरपालिकाको होस् वा प्रदेश सरकारकै होस्, कार्यक्रम, सभा तथा सम्मेलन गर्दा होटल, पार्टी प्यालेसमा गरिरहेका हुन्छौँ । त्यति ठूलो क्षमताको हल पनि अन्त कतै छैन । त्यसलाई त संरक्षण पो गर्नुपथ्र्यो त, यदि प्राविधिक रुपमा त्रुटि थियो भनेपनि प्रमाणसहित बाहिर सार्वजनिक गरेर, सर्वदलीय वा सर्वपक्षीय बैठक बसेर पो निर्णय गर्नुपथ्र्यो त, त्यसमाथि प्राविधिक रुपमा त्रुटि भएको भए त्यो कसरी पास हुन्थ्यो र ?, यहाँका जनताको करोडौँ लगानीमा बनेको भवन त्यसै भत्काइँनु त कसरी राम्रो भयो र ?’ उनले थपे । उनले सभागृह भत्काएर व्यापारिक प्रयोजनको टावर बनाउन उपमहानगर अग्रसर हुनुमा ठूलै स्वार्थ लुकेको बताए ।