राक्सिराङको ११ औं अधिवेशनः विद्युतीय सुशासन प्रणाली सुचारु

तु खबर संवाददाता
२०७८ माघ १,शनिबार ०९:१६

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको गाउँसभाको ११ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन शुक्रबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षता तथा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

गाउँपालिकाले विद्युतीय सुशासन प्रणालीकोसमेत सुरुवात गरेको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री चेपाङसहित गाउँपालिकाका जनप्रतिनिधिले विद्युतीय सुशासन प्रणालीको उद्घाटन गरेका हुन् । सुशासन प्रणालीअन्तर्गत वडागत जनसंख्या विवरण, धर्म, साक्षरतालगायत घरमुलीको फोटोसहितको विवरण अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।

अनलाइनमार्फत नै गाउँपालिका अध्यक्षलाई गुनासो राख्नेदेखि न्यायिक समितिमा उजुरी गर्न सकिने व्यवस्थासमेत गरिएको छ । सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य संस्थाको विवरण पनि अनलाइनमार्फत नै हेर्न सकिने गरी व्यवस्था गरिएको छ । यस्तै, गाउँपालिकाले भूउपयोग नीति तथा भूमि व्यवस्थापन योजना पनि बनाएको छ । गाउँसभाबाट पारित उक्त नीतिको पनि शुक्रबार नै विमोचन गरिएको थियो ।

गाउँसभाको बैठकमा चालु आर्थिक वर्षको बजेट संशोधन प्रस्तावसमेत पारित गरिएको थियो । गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको हो । कार्यपालिका सदस्य सञ्जय कोइरालाले गाउँपालिकाको अर्धवार्षिक समीक्षा प्रस्ताव सभामा पेश गरेका थिए । उक्त प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।

यस्तै, न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा न्यायिक समितिको नाम अनुमोदन प्रस्ताव पनि पारित गरिएको छ । यस्तै, कार्यपालिका सदस्य बाबुलाल स्याङ्तानले पेश गरेको २०७७÷७८ सम्मको बेरुजू संपरीक्षणको लागि महालेखा परीषकको कार्यालयलाई प्रस्ताव गर्ने सम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट पारित भएको छ । त्यसैगरी गाउँसभामा कार्यपालिका सदस्य सूर्यबहादुर मोक्तानले प्रस्तुत गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन अन्तिम नतिजा सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित गरिएको छ ।

राज्यमन्त्री चेपाङ सम्मानित
गाउँपालिकाको बैठककैबीच बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङलाई सम्मान गरिएको छ । चेपाङ समुदायबाट देशमै पहिलो र राक्सिराङ गाउँपालिकाबाट पनि पहिलो मन्त्री बन्न सफल भएको भन्दै उनलाई शुभकामनासहित गाउँपालिकाले सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष राकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र वर्तौलाले संयुक्त रुपमा राज्यमन्त्री चेपाङलाई खादा र मालाका साथ सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै राक्सिराङ गाउँपालिका–७ स्थायी निवासी राज्यमन्त्री चेपाङले आफ्नो कार्यकालमा पिछडिएको सिमान्तकृत चेपाङ समुदायका साथै राक्सिराङ गाउँपालिकाकोसमेत विकासमा महत्वपूर्ण काम गर्ने प्रतिवद्धता जनाए ।