२ नम्वर प्रदेशको नाम ‘मधेश प्रदेश’ तोकियो
जनकपुरधाम । २ नम्वर प्रदेशको नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो । संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनुपर्छ ।
मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको हो । सभामुख सरोजकुमार यादवले प्रदेशको नाम तोक्नका लागि आवश्यक दुई तिहाई मत पुगेकाले प्रस्ताव स्वीकृत भएको घोषणा गरे । प्रदेशको नाम मधेस पारित भएसँगै नामकरण सम्बन्धमा पेस भएका अन्य प्रस्ताव निस्क्रिय भएका छन् ।