सदरमुकाम केन्द्रित नेपाली पत्रकारिता

गिरिजा अधिकारी
२०७८ माघ ५,बुधबार ११:१८

नेपाली पत्रकारिता क्षेत्र पछिल्लो समय झन् खुम्चिदै गएको छ । सहर केन्द्रीत मिडियाले ग्रामिण समाचारहरुलाई स्थान दिन सकेका छैनन् । सदरमुकाममा केन्द्रीत भएर चल्ने पत्रिका गाउँसम्म पुग्दैनन् । गाउँमा भएका सूचना सञ्चार माध्यममा समेटिँदैनन् । सबैभन्दा दुखको कुरा त के भने सधैँजसो सदरमुकाममा भएका गोष्ठी र राजनीतिक दलका गतिविधिले मात्र पत्रिकाका पाना भरिएका हुन्छन् । आवाज बिहीनहरुको आवाज बन्नु पर्ने मिडिया बोलवालाहरुको चंगुलमा छ । दूरदराजमा भएका गतिविधि र जनताका सवालहरुले हाम्रो मिडियामा किन स्थान पाउँदैनन्, यसबारे हामीले चिन्तित हुनुपर्ने छ ।

सदरमुकाम र त्यसका दुइचार किमिको दुरीभित्र हाम्रो पत्रकारिता रमाएको छ । अपवाद बाहेकका सञ्चार माध्यमले ग्रामीण समाचारलाई समाचार मान्दैनन् वा त्यो सूचनामा पत्रिकाका प्रतिनिधिको आँखा पुग्दैन । केन्द्रीय राजधानीबाट प्रकाशित हुने पत्रिकाहरु जिल्ला सदरमुकामसम्म मात्र आइपुग्छन् । ती पत्रिकाहरु जिल्ला सदरमुकाम कटेर गाउँगाउँसम्म पुग्न नसक्दा मिडियाको प्रभाव पनि कमजोर भएको छ । केन्द्रीय राजधानी र जिल्ला सदरमुकामबाट प्रकाशित हुने अनलाइन पत्रिकाहरुमा पनि ग्रामीण विषयहरु समेटिएका भेटिँदैनन् । उही विषयवस्तु र उस्तै प्रस्तुतीकरण हुन्छन् । सातामा केही दिन सदरमुकामबाहिर गाउँगाउँसम्म पुगेर ग्रामीण विषयवस्तु उठान गर्न नेपाली मिडिया चुकेको छ ।

पछिल्लो समय नेपाली मिडिया विस्तार त भएको त त्यो केबल सदरमुकामसम्म मात्र छ । ठूला पत्रिकाका प्रतिनिधि पनि दिनभरि सदरमुकामभित्रै हुने गतिविधिमा अल्झिएका हुन्छन् । प्रदेश सरकार र केन्द्रीय सरकारका मन्त्री, साँसद र सरकारका गतिविधि लेख्दैमा दिन घर्किन्छ । त्यसबाहेक बेलाबेलामा जारी हुने विज्ञप्ती पढेर बनाइएका समाचारले पनि हाम्रो मिडियामा प्रसस्तै स्थान पाउँछ । जिल्लाबाट सञ्चालनमा आउने एफएम रेडियोहरु फगत गीत मात्र बजाउँछन् । ती मिडियामा पनि ग्रामीण इस्यूहरु बज्दैनन् । बरु नेपालमा रेडियोहरु भित्रिएका समयमा नेपाली रेडियोहरुमा थुप्रै श्रवणयोग्य समाचारहरु बज्थे । रेडियो म्यागेजिनहरु प्रसारण हुन्थे । गाउँमा रेडियोको गजबको क्रेज थियो । रेडियो म्यागेजिन निर्माण गर्न साता दिनभन्दाबढी समय लाग्थ्यो तर अहिले रेडियोहरु सुस्ताएका छन् । केन्द्रबाट प्रकाशित पत्रिका र सञ्चालित अनलाइनमा आएका समाचारहरुले एफएम रेडियोको बुलेटिनमा प्रसस्तै स्थान पाउँछन् । अनलाइन खोल्यो र फटाफट समाचार पढ्यो, अहिलेको एफएम रेडियोहरुको दैनिकी यस्तै छ ।

नेपाली पत्रिका, अनलाइन र रेडियोहरुबारे माथि जून चर्चा भएको छ यस बाहेकको फरक अवस्था नेपाली मिडियाको छैन । समाचार शाखामा जनशक्ति छैनन् । रेडियोको प्राविधिकले अनलाइनबाट समाचार कपी गरेर बुलेटिन धानेका छन् । पत्रिकाको सेटिङ गर्ने प्राविधिकले त्यही अनलाइनमा आएको समाचार कपी गरेर पत्रिकाको पाना भरेका छन् । काठमाडौंबाट प्रकाशित ब्रोडसिटका पत्रिकाहरुले जति नयाँ दिएका छन्, त्यो सकारात्मक छ । तर त्यसबाट पनि सन्तुष्ट हुने स्थिति भने छैन । नयाँ त छ तर त्यो सदरमुकामकै गतिविधिमा केन्द्रीत छ । नेपाल प्रेस इन्स्टिच्युटले प्रकाशित गरेको पत्रकारिता हाते किताव मा विकास पत्रकारिता शीर्षकमा पत्रकार भारतदत्त कोइरालाले लेखेको कुरा यहाँ सान्दर्भिक हुन आउँछ । उनले भनेका छन् –

नेपाली अखबारमाथि सरसर्ती दृष्टि दिँदा के देखिन्छ भने अहिले पनि अखबारका महत्वपूर्ण ठाउँहरु वाक्कलाग्दा भाषणहरु, सरकारी विज्ञप्ति, शिलान्यास र उद्घाटनका बेलिविस्तार, राजनीतिक र चुनावसम्बन्धी रिपोर्टहरुले ओगटेका हुन्छन् । विकास सम्बन्धी क्रियाकलापका समाचारहरु निकै थोरै हुन्छन् –यसकारण नेपालमा अहिले अखबारहरु जून रुपमा छन् त्यही रुपमा तिनलाई सामाजिक परिवर्तनका भरपर्दो साधनको रुपमा लिन सकिँदैन । तिनीहरुले परिवर्तनशील समाजको सही चित्रण पेश गर्न सक्दैनन् । अर्को शब्दमा आज जून रुपमा अखबार र पत्रिकाहरु छन् त्यही रुपमा तिनीहरु समाजिक परिवर्तनका ऐना बनेका छैनन् । रचनात्मक क्रियाकलापका उत्तेजक घटनाहरु, खेत–खला, कारखाना, प्रयोगशाला र बजारका रोमाञ्चहरुले हाम्रा अखबारहरुमा ठाउँ पाउँदैनन् । वास्तवमा सहरको होस् वा गाउँको समान्य मानिसका लागि रोचक वा उपयोगी केही पनि छैन ।

दुइ दशकअघि पत्रकार कोइरालाले जे विश्लेषण गरेका छन्, नेपाली मिडिया अहिले पनि त्यो भन्दा माथि उठ्न सकेको छैन । क्रमशः खस्किँदै गइरहेको भने छ । आज पनि मिडियाको संख्यात्मक वृद्धि भइरहेको छ तर त्यसको गुणस्तर खस्किँदै गइरहेको छ । पत्रिका छापिन्छन्, रेडियो बज्छन्, अनलाइन चल्छन् तर ती सबै मिडियामा ग्रामीण समाचारहरु हुँदैनन् । अर्थात् विषयवस्तुमा विविधता हुँदैन । मुख्यमन्त्री, सरकारका मन्त्रीहरु, प्रदेशसभाका गतिविधिहरु ती मिडियाका प्रमुख समाचारहरु बन्छन् । सरकारका ती अङ्गहरुले तल्लो स्तरका जनतालाई लाभ वा हानी हुने के कस्ता गतिविधि गरिरहेका छन् भन्ने विषयमा मिडिया बोल्दैन । जनताको दैनिक जिवनयापन असहज भइरहेको छ । मंहगी बढ्दो छ र सरकारी अड्डाहरु पंगु भइरहेका छन् । विनियोजित बजेट ठिक ठाउँमा ठिक तरिकाले खर्च भइरहेको छैन । सरकारी स्रोतसाधनको चरम दुरुपयोग छ । गाउँमा किसानले कृषि कर्मको लागि सामान्य अनुदान पाएका छैनन् । दुखजेलो गरेर उत्पादन गरिएको बस्तुले बजार पाएको छैन । बिचौलियाका कारण किसानका उत्पादनले उचित मुल्य पाउन सकेको छैन । गाउँभरि बाटाघाटा बनाउने नाममा अनियन्त्रित रुपमा डोजर र एक्साभेटर चलाइएको छ । यस्ता तमाम विषय छन्, जून नेपाली मिडियामा समेटिन सकेको छैन ।

सारमा के भन्न सकिन्छ भने नेपाली मिडियामा हामीले जबसम्म गाउँगाउँसम्म पुगेर त्यहाँ रहेका विषयलाई उठान गर्दैनौ तबसम्म हामीले समाज परिवर्तनमा कुनै उल्लेख्य योगदान पु¥याउन सक्दैनौँ । हामी मिडिया त चलाउँछौ तर त्यो मिडिया प्रभावकारी हुँदैन । सदरमुकाम केन्द्रीत हाम्रा मिडियाहरुलाई गाउँगाउँसम्म पु¥याउनु पर्दछ र हाम्रा मिडियामा प्रकाशित हुने विषयबस्तु पनि ग्रामीण जीवनसँग सरोकार राख्ने किसिमको हुुनुपर्दछ । वर्तमान राजनीतिक गतिविधि पनि मिडियाको लागि जनअभिरुचीकै खुराक हो । यसो भनेर सधैं बाह्रै काल बाह्रै मास यही गतिविधिमात्रै हाम्रा मिडियामा छापिनु र बज्नु हुँदैन । हामीले अब नेपाली मिडियालाई पनि रुपान्तरिक गर्नुपर्दछ । यसमा प्रकाशित हुने विषयवस्तुहरु विविध हुनुपर्दछ र अझ भन्ने हो भने ग्रामीण भेगमा बस्ने जनताको समस्या, चिन्ता र उनीहरुले मिडियाबाट खोजेको साथलाई उचित स्थान दिन सक्नुपर्दछ । अनिमात्रै हामीले नेपाली मिडियाको सही अर्थमा औचित्य पुष्टि गर्न सक्दछौँ ।