प्र्याङ्क भिडियो युट्युबमा राखे जेल र जरिवाना

काठमाडौँ । युट्युबमा सार्वजनिक हुने भिडियोले व्यक्तिको चरित्रमाथि प्रश्न उठ्नुको साथै मानमर्दन गरेको भन्दै उजुरी परेपछि गृह मन्त्रालयले यस विषयमा कडाई गर्ने भएको छ । विहिबार विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालयले कसैलाई प्य्राङ्क वा सताउने खालका जुनसुकै भिडियो बनाए कानूनी कारवाही गर्ने चेतावनी दिएको छ ।
व्यक्तिलाई सताउने भिडियो बनाएर युट्युबलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई अब प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । नेपाल प्रहरीले ख्यालठट्टाका नाममा भिडियो बनाएर सर्वसाधारणलाई मानसिक तथा शारीरिक रूपमा हैरानी दिनेलाई मुलुकी संहिता अनुसार कानूनी कारवाही गरिने जनाइएको छ ।
प्रहरी कारवाहीमा दोषी ठहर भए ती व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । संहिताको दफा ११८ मा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । कसैले कसुर गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’ मन्त्रालयले यस विषयमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेकोसमेत जनाएको छ ।