अब बस्ने मन्त्रिपरिषद् बैठकले जेठ ४ गतेलाई स्थानीय तहको निर्वाचनको मिति तोक्ने

तु खबर संवाददाता
२०७८ माघ १८,मंगलवार १७:३३
file-photo

काठमाडौँ । सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति तोक्ने जानकारी गराएका छन् । निर्वाचन आयोगका पदाधिकारीहरुसंग भएको छलफलका क्रममा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट जेठ ४ गते तीनै तहको निर्वाचन गर्ने गरी मिति तय गरिने जानकारी गराएका हुन् ।

सोही छलफलमा प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्न सक्ने नसक्नेबारेमा आयोगका पदाधिकारीसँग जिज्ञासा समेत राखेका थिए । आयोगका पदाधिकारीले एकै चरणमा निर्वाचन गर्न सकिने जवाफ दिएपछि प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट ४ जेठ २०७९ निर्वाचन गर्ने मिति तोक्ने जानकारी गराएका हुन् ।

आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ सम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो । यसअघि सोमबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी गराइसकेका थिए ।