भारतीय चर्चित गायिका लता मंगेशकरको निधन

तु खबर संवाददाता
२०७८ माघ २३,आईतवार ११:३५

मकवानपुर । भारतीय चर्चित गायिका लता मंगेशकरको आज निधन भएको छ । स्वर कोकिलाको रुपमा परिचित उनको आज ९२ बर्षको उमेरमा निधन भएको हो । उनलाई यसै वर्ष जनवरी महिनाको सुरुवातमा कोभिड संक्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो । स्थितिमा सुधार नभएपछि उनी हप्तौँसम्म आइसीयूमा भर्ना थिइन् ।

भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले ट्वीट गर्दै लेखेका छन्, ‘देशको शान र संगीत जगतकी शिरमोर स्वर कोकिला भारत रत्न लता मंगेशकरजीको निधन असाध्यै दुःखद हो । पुण्यात्माको मेरी भावपूर्ण श्रद्धाञ्जली । उनको निधन देशका लागि अपूरणीय क्षती हो । उनी सबै सङ्गीत साधकका लागि सदैव प्रेरणा थिइन् ।’
लता मंगेशकर एक महान पार्श्गायिका थिइन् । उनले भारतीय फिल्मी सङ्गीतलाई एक नयाँ परिभाषा दिएको धेरैको मान्यता छ । बलिउडको उदयसँगै यहाँका फिल्ममा पार्श्वगायक वा प्लेब्याक सिंगरको महत्वपूर्ण भूमिका रहेको छ, जसले फिल्मी पर्दामा अभिनेता र अभिनेत्रीलाई आफ्नो आवाज पर्दा पछाडिबाट दिँदै आइरहेका छन् ।

लता मंगेशकरलाई भारतकी सुर कोकिला भनिन्थ्यो । उनको फिल्मी सङ्गीत करियर आधा शताब्दिभन्दा पनि लामो रह्यो जसमा उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन् । थुप्रै दशकसम्म लता मंगेशकर भारतकी सबैभन्दा चर्चित र मागमा रहने गायिका रहेकी थिइन् । बलिउडका हरेक ठूला अभिनेत्रीको आफूले अभिनय गर्ने गीतलाई लता मंगेशकरले नै स्वरबद्ध गरुन् भन्ने चाहना हुन्थ्यो ।