सहायक वन अधिकृतलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

तु खबर संवाददाता
२०७८ माघ २७,बिहीबार ०८:५१
सांकेतिक तस्बिर

धनगढी । कैलालीको पचमुडिया सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दल्ने विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका–९ बस्ने ३९ वर्षीय पहल पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मगरलाई बुुधबार पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा मुुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । गत माघ १७ गते वन अधिकृत पण्डितमाथि विप्लवका कार्यकर्ताको समूहले कार्यालयमै मोसो दलेको थियो । उनीहरुले चन्दा आतंकको विरोध गरेको आरोपमा मोसो दलेका थिए । पण्डितले आफूमाथि अभद्र व्यवहार गर्ने विप्लवका कार्यकर्तालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।