एमसीसी अनुमोदन गर्न एमालेसँग सहयोग माग्दै प्रधानमन्त्री देउवा

तु खबर संवाददाता
२०७८ फाल्गुन ११,बुधबार ०९:०१

मकवानपुर । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निकै जोडबल गरिरहेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीभित्र सहमति जुटाएर एमसीसी पारित गर्ने सन्दर्भमा सत्तागठबन्धनका दलहरुसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सहयोग मागिरहेका छन् ।
सत्तागठबन्धन भित्रैकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवाले एमालेसँग छलफल सुरु गरेका छन् । उनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग छलफल गरी एमसीसी अनुमोदनका लागि सहयोग माग गरेका छन् । भेटमा उनले एमसीसी सम्झौता अनुमोदनका लागि सहयोग गर्न एमालेलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमाले अध्यक्ष ओलीले भने आफुहरु विगत ६ महिनादेखि संसदभित्रै आन्दोलनमा रहेकोले एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसक्ने बताएका थिए । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै २३ भदौदेखि संसद अवरोध गर्दै आएको छ । सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्दा पनि एमाले सांसदहरूले रोष्ट्रममा नाराबाजी गरिरहे । नियमित प्रक्रियामै भाग लिएनन् ।

संसदको अर्को बैठक फागुन १२ गतेका लागि बोलाइएको छ । त्यो बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल थाल्ने र केही दिनमा अनुमोदन गर्ने सरकारी तयारी छ । तर सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा छन् ।