राज्यमन्त्रीद्वारा स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ स्थित कोखारी आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । करिब ३८ लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनको शुक्रबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले एक समारोहबीच उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै राज्यमन्त्री प्रजाले सपना बाँड्ने कम्युनिष्टहरुले केही काम गर्न नसकेकाले अब विकासको जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । राक्सिराङमा कांग्रेसको नेतृत्वमा धेरै विकासको काम गर्न सफल भएको बताउँदै उनले आफ्नो कार्यकालमा पनि राक्सिराङमा प्रयाप्त बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे ।
राक्सिराङ गाउँपालिका ९ नम्बर वडा अध्यक्ष रामकुमार बाल्पा थिङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, बागेश्वरी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन मल्ल ठकुरी, राज्यमन्त्रीका निजी सचिव खेम चेपाङ, कोखारी स्वास्थ्य सेवा केन्द्रका कर्मचारी जीवन ठकुरी, निर्माण व्यवसायीका प्रतिनिधि बालकृष्ण खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।