बासुदेव सभागृहः संरक्षणमा सिन्को नभाँच्ने मेयर, अस्तित्व मेटाउन अग्रसर

तु खबर संवाददाता
२०७८ चैत्र १२,शनिबार १९:२२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सुविधायुक्त सभागृहको अभाव छ । प्रदेशका मन्त्रालयहरु, सरकारी कार्यालयहरुले मात्रै नभई हेटौंडा उपमहानगरपालिकाले नै नगर परिषद् नीजि पार्टी प्यालेसमा भाडा तिरेर गर्दै आएको छ । तर, आफ्नै करोडौँ लगानी परिसकेको हेटौंडा –४ हुप्रचौरस्थित बासुदेव सभागृह भत्काएर उपमहानगरले व्यावसायिक बहुउदेश्यीय भवन निर्माणको कार्य अघि बढाएको छ । शुक्रबार मेयर हरिबहादुर महतले उक्त भवनको शिलान्यास गरेका छन् ।

उपमहानगरले केही लाख खर्च गर्दा निर्माण पूरा हुने अवस्थाको हुँदाछँदाको सभागृह भत्काएर व्यावसायिक बहुउद्धेश्यीय भवन निर्माणको प्रक्रिया अघि बढाएपछि नागरिकस्तरबाट उक्त कार्यको विरोध सुरु भएको छ । स्थानीय विकास मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति र हेटौंडा नगरपालिकाको संयुक्त साढे २ करोडभन्दा बढी लगानीमा सभागृह निर्माण गरिएको थियो । तर, उपमहानगरले सभागृह भत्काएपछि राज्यको करोडौँ लगानी बालुवामा पानी भएको छ ।

हेटौंडामा विभिन्न कार्यक्रम वा सभा सम्मेलन गर्नको लागि सभाहलको आवश्यकता महशुस भएपछि तत्कालिन नगर प्रमुख मधुकर अधिकारीले स्थानीय विकासमन्त्री कमल थापासँग अनुरोध गरेपछि स्थानीय विकास मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा यो सभागृह निर्माणको कार्य अघि बढाइएको थियो । विसं २०६० सालमा निर्माण सुरु भएको उक्त सभागृहको नाम ‘ज्ञानेन्द्र सभागृह’ राखिएको थियो । जनआन्दोलनपछि मकवानपुरका सहिद बासुदेव घिमिरेको नाममा नामाकरण गरिएको हो ।

सभागृह निर्माणाधीन रहँदै नगरप्रमुख अधिकारीको कार्यकाल सकिएपछि त्यसलाई पूर्णता दिनेतर्फ कसैले चासो देखाएन । फलस्वरुप निर्माण प्रारम्भ भएको १८ बर्ष बितिसक्दा पनि सभागृह प्रयोगमा आउन सकेन, बरु दिनप्रतिदिनि खण्डहर बन्दै गयो । बेबारिसे अवस्थामा रहेको उक्त सभागृहको संरक्षण गर्ने नारा लिएर चुनाव जितेका मेयर हरिबहादुर महतले ५ बर्षको कार्यकालमा सभागृहको संरक्षणका लागि सिन्कोसमेत भाँचेनन् । बरु, उपमहानगरकै स्वामित्वमा रहेको सभागृहको अस्तित्वनै मेटाउनेतर्फ अग्रसर भए ।

सभागृहलाई संरक्षण गरेर प्रयोगमा ल्याउँदा उपमहानगरपालिकालाई विभिन्न सभा/सम्मेलन तथा कार्यक्रम खर्च बापतको लाखौँ रुपैँया आर्थिक भार कम हुने थियो । उपमहानगरले आफ्नै कार्यक्रम तारे होटलमा लाखौँ खर्च गरेर आयोजना गर्दै आएको छ । तर, बहुआयामिक स्रोतको रुपमा प्रयोग हुने सभागृह भत्काइदिएको छ ।

कसरी भयो प्राविधिक त्रुटि ?

मेयर महतले सो भवन प्राविधिक रुपमा त्रुटिपूर्ण रहेकोले प्रयोगमा नल्याई भत्काइएको प्रतिक्रिया दिँदै आएका छन् । तर, भवन किन त्रुटिपूर्ण भयो ?, त्यसको प्राविधिक को हो ?, कमजोरी कसको भयो ?, भन्ने विषयमा उपमहानगरपालिकाले कुनै तथ्य सार्वजनिक गर्न चाहेको छैन । उपमहानगरले सो क्षेत्रमा बृहत व्यापारिक भवनसहित मनोरञ्जनका लागि भ्यू टावरको निर्माण गर्ने तयारी गरेको छ ।

जनताको करबाट निर्माण भएको सो सभागृह भत्काएर पुनः अर्को भवन निर्माण गर्दा राज्यको ढुकुटीको दुरुपयोग हुन पुगेको छ । उपमहानगरले आयस्रोत बृद्धि गर्ने लक्ष्यसहित मनोरञ्जनका लागि कमर्सियल कम्प्लेक्ससहितको भ्यू टावर निर्माणको थालनी गरेको जनाएको छ ।

प्रदेशसभाको पनि छैन आफ्नै भवन

मुलुक संघीयतामा गएपछि प्रदेश संरचना कायम भयो । ७ प्रदेशमध्ये बागमती प्रदेशको राजधानी हेटौंडा कायम भयो । बागमती सरकार संचालनको लागि भवन अभाव देखिएपछि पुराना भवनहरुलाई प्रयोग गर्ने विषयमा तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले निकै चासो देखाए । सार्वजनिक कार्यक्रमहरुमा उनले बासुदेव सभागृहलाई संरक्षण गरी प्रदेशसभा सचिवालयको रुपमा विकास गर्ने आश्वासन बाँड्दै हिँडे । तर, कार्यान्वयनमा उनले ठोस् कदम भने चालेनन् । पौडेलको साढे ३ बर्षे कार्यकालमा न प्रदेशसभाको आफ्नै भवन बन्यो, न सभागृहको संरक्षण नै भयो । प्रदेशसभा सचिवालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा संचालनमा रहेको छ । त्यसपछि बागमती सरकारको नेतृत्व अष्टलक्ष्मी शाक्य र राजेन्द्र प्रसाद पाण्डेले गरे । तर, उनीहरुले पनि सभागृह निर्माणको कार्यमा चासो देखाएनन् ।

बागमती प्रदेशले यो अवधिमा विभिन्न कार्यक्रम, तालिम गोष्ठि तथा सेमिनारहरु तारे होटलमा आयोजना गर्दै आएको छ । जसमा प्रदेश सरकारले करोडौँ बजेट खर्च गरेको छ । करिब ६ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको सभाहल संरक्षण गर्न सकेको भए यसले उपमहानगरपालिकाको आम्दानीमा निकै सहयोग पुर्याउने थियो ।

सभागृह भत्काएर भ्यू टावर

मेयर महतले विधिवत् रुपमा पूजा गरी ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा भ्यूटावरसहितको बहुउद्देश्यीय भवनको शुक्रबार शिलान्यास गरे । भवन निर्माणपश्चात् उपमहानगरको आन्तरिक स्रोतमा वृद्धि हुने उनले बताउँदै आएका छन् । बहुउद्देश्यीय भवनको भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको थियो । कुल लागतमा ३८ दशमलव २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरेर काम सुरु गरेको हो ।

११ तले भवनमा सबैभन्दा तल दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइ वटा भर्याङ, सबैभन्दा माथि भ्यूटावर निर्माण गरिने योजना रहेको रहेको उपमहानगरपालिकाले जनाएको छ । निर्माण सम्पन्न गर्न ३ बर्षको ठेक्का अवधि दिइएको छ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गतेको लागि तय गरेको छ । मेयर महतको कार्यकाल सकिनै लागेको छ । कार्यकालको अन्तिममा मेयर महतले अघि बढाएको भ्यूटावरसहितको बहुउद्देश्यीय भवन निर्माणको कार्यले पनि पूर्णता पाउने टुंगो छैन ।