शनिबारदेखि जनकपुर–जयनगर रेल संचालन हुने
जनकपुरधाम । जनकपुर–जयनगर रेल शनिबारदेखि संचालनमा आउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल संचालनमा आउनेछ ।
जनकपुरधाम रेल्वे स्टेशनमा हुने रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले बताए । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट गर्ने उद्घाटन हेर्नका निम्ति यहाँ ठूलो स्क्रिन जडान गरिनेछ ।
नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल संचालन हुने रेल दैनिक दुई पटक संचालन हुने महाप्रबन्धक झाले बताए । उनका अनुसार, दुई देशीय यात्रा भएका कारण दुबै देशका नागरिकलाई रेल चढ्न पहिचान खुल्ने प्रमाण पत्र बोक्नुपर्नेछ । १० देखि १८ वर्षसम्मका बालबालिकाको हकमा भने विद्यालयको परिचय पत्र बोक्नुपर्ने उनको भनाई छ ।
जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यहाँबाट परवाहा जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ, वैदेही जान सामान्य कोचमा २५ रुपैयाँ र एसी कोचमा १२५ रुपैयाँ, महिनाथपुर पुग्न सामान्य कोचमा ३५ रुपैयाँ र एसी कोचमा १७५ रुपैयाँ भाडा दर निर्धारण गरिएको छ ।
यस्तै, खजुरी पुग्न सामान्य कोचमा ५५ रुपैयाँ र एसी कोचमा २७५ रुपैयाँ, इनर्वा पुग्न सामान्य कोचमा ६० रुपैयाँ र एसी कोचमा ३०० रुपैयाँ तथा जयनगर पुग्न सामान्य कोचमा ७० रुपैयाँ र एसी कोचमा ३५० रुपैयाँ भाडा दर तोकिएको छ ।