हेटौंडा–९ को वडाध्यक्षमा माओवादीबाट ४ जनाको नाम सिफारिस
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/Mawowadi_Tukhabar-e1620132141264.png)
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि ४ जनाको नाम सिफारिस भएको छ । आइतबार बसेको वडा कमिटीको बैठकले अध्यक्ष पदका लागि ४ जनाको नाम सिफारिस गरेको हो ।
अध्यक्ष पदका लागि नाम सिफारिस हुनेहरुमा क्रमशः प्रकाश पौडेल, ज्ञानेन्द्र लामिछाने, गौतम केसी र दीपेन्द्र पौडेल रहेका छन् । वडाध्यक्षको आकांक्षी पौडलले लामो समयदेखि स्वास्थ्य क्षेत्रको अनुवभ बटुलेका छन् । उनी हेटौंडा अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत हुन् ।
यस्तै, अर्का आकांक्षी केसी शिक्षण पेशामा आवद्ध छन् । उनी मकवानपुर बहुमुखी क्याम्समा प्राध्यापकको भूमिकामा काम गर्छन् । प्राध्यापन र सामाजिक सेवामा उनको सक्रियता बढ्दो छ । केसी विभिन्न सामाजिक संघसंस्थासको समेत नेतृत्व गरेर समाजकाृ सेवाको काममा निरन्तर लागि रहेका छन् ।
यस्तै, सो बैठकले खुलातर्फ वडा सदस्यमा रामचन्द्र नेपाल, बलराम मिश्र, विष्णु राना र जीवन शर्माको नाम सिफारिस गरेको छ । वडा सदस्यमा खुलातर्फ २ जना उम्मेदवार हुनुपर्नेमा ४ जना आकांक्षी देखिएका छन् । १ जना महिला वडा सदस्यका लागि दुई जनाको नाम सिफारिस गरेको छ । जसमा कमला पौडेल र मञ्जु देवकोटा रहेका छन् । यता दलित महिलातर्फ भने कमला मिजारको नाम सर्वसम्मत सिफारिस गरिएको जनाइएको छ ।
वडा कमिटीबाट सिफारिस भएको नामलाई नगर कमिटीले टुंग्याउने बताइएको छ । नगर कमिटीले टुंग्याउन नसकेको अवस्थामा जिल्ला कमिटीले आवश्यक सहजीकरण गर्ने बताइएको छ । बैकठ पार्टी वडा कमिटीका अध्यक्ष बलराम मिश्रको अध्यक्षतामा बसेको हो ।